[ad_1]
७ फागुन, जनकपुरधाम । शुक्रबार बिहान धनुषाको शहीदनगर नगरपालिका–५ का शंकर कापरका अढाइ वर्षीय छोरा कृष्ण पानी जमेको खाल्डोमा खसे । त्यहाँबाट निकालेर जनकपुर प्रादेशिक अस्पताल पुर्याउँदा भेन्टिलेटरमा राख्नुपर्ने भनियो । ‘डाक्टरले अवस्था गम्भीर छ, यहाँ भेन्टिलेटर खाली नभएकाले काव्य अस्पताल लैजानुस् भन्नुभयो,’ कापर भन्छन् ।
डाक्टरले निजी अस्पतालको नामै लिएर त्यहाँ लैजान भनेपछि आर्थिक रुपमा कमजोर उनी अप्ठ्यारोमा परे । आफन्तसँग सल्लाह गर्दा काव्यभन्दा जनकपुरकै भ्रमरपुरचोकमा रहेको स्वस्ती अस्पताल अलि सस्तो भनेर छोरालाई त्यतै दौडाए । र पनि, निकै ढिला भएछ, अस्पतालले साँझ ७ बजे बालकको मृत्यु भएको बताउँदै ५० हजार रुपैयाँको बिल थमाइदियो ।
‘पैसा नतिरी छोराको शव पनि नदिने भन्यो’, आँखाभरी आँशु पार्दै कापरले भने, ‘प्रादेशिक अस्पतालमै भेन्टिलेटर पाएको भए मेरो बेटा (छोरो) मर्ने थिएन ।’
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा आईसीयू बेड नपाउने शंकर एक्लो होइनन् ।
मंगलबार दिउँसो १ बजे मोटरसाइकल दुर्घटनामा परेका जनकपुर–१४ का ५० वर्षीय नथुनी मुखियाले पनि यो अस्पतालमा आईसीयू बेड पाएनन् । डाक्टरले उनलाई पनि तुरुन्त काव्य हस्पिटल लैजान सुझाव दिए । ‘उहाँको अवस्था गम्भीर थियो । अहिले अवस्था सुधार छ’, मुखियाकी बुहारी बासुले भनिन्, ‘यहाँ धेरै उपचार खर्च तिर्नु परिरहेको छ । सरकारीमा आईसीयू भएको भए सस्तोमा उपचार हुन्थ्यो ।’
जनकपुर प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा पुगेपछि सघन उपचारका लागि निजी अस्पतालमा रिफर हुनु सामान्य जस्तै बनेको छ ।
आईसीयू वा भेन्टिलेटरको अभावमा दैनिक ४–५ जना सिकिस्त बिरामी बाहिर रिफर हुने गरेको इमरर्जेन्सी कक्षका इन्चार्ज डा. शरद यादव बताउँछन् ।
जनकपुर प्रादेशिक अस्पतालको आईसीयूका १० बेडमध्ये ६ वटा मात्र सन्चालनमा छन् । करारका स्टाफ नर्सहरु हटाइएपछि आईसीयू कक्षमा जनशक्ति अभाव भएकाले ४ वटा बेड दुई महिनायता बन्द रहेको बताउँदै डा. यादवले भने, ‘त्यसमध्ये पनि दुईवटा भेन्टिलेटरमा प्राविधिक समस्या देखिएको छ ।’
उनका अनुसार विरामीहरु रिफर गर्दा प्रतिष्ठान अन्तरगतकै मनिपाल कोभिड अस्पतालको आईसीयूलाई प्राथमिकता दिइन्छ । ‘त्यहाँ पनि बेड खाली नहुँदा अन्त रिफर गर्नुको विकल्प रहँदैन’ उनले भनेका छन् ।
जनकपुरकै मुजेलियास्थित मनिपाल कोभिड अस्पतालमा १५ बेडको आईसीयू सञ्चालनमा छ । आईसीयू कक्ष इन्चार्ज डा. रविरञ्जन प्रधानका अनुसार अस्पतालको ६ बेड भेन्टिलेटर प्रायः खाली हुन्न । अस्पतालमा थप ६ वटा भेन्टिलेटर छ, तर जनशक्तिको अभावमा नचलाई राखिएको छ ।
दुवै अस्पतालका आईसीयू तथा भेन्टिलेटर सञ्चालनमा आए बिरामीले ऋण काढेर निजी अस्पतालमा उपचार गराउनुपर्ने वाध्यता हट्ने देखिन्छ । प्रादेशिक अस्पतालमा भेन्टिलेटरको दैनिक शुल्क २ हजार रुपैयाँ छ भने निजी अस्पतालमा रु. १० हजारदेखि २५ हजारसम्म ।
प्रादेशिक अस्पतालका धेरैजसो डाक्टर लगायत स्वास्थ्यकर्मी निजी अस्पताल र क्लिनिकमा पनि काम गर्छन् । उनीहरुमध्ये केहीले बिरामीलाई कुनै न कुनै बहानामा निजीमा जान प्रेरित गर्छन् । यो पुरानै धन्दा हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको आफ्नै ट्रमा सेन्टर (अस्पताल) छ भने प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद यादव पनि सविता फार्मेसीमा बिरामी हेर्छन् । ‘सरकारी अस्पतालको सेवा सुधारिए निजीको कमाइ सुक्छ’, प्रादेशिक अस्पतालका एक डाक्टर भन्छन्, ‘तर सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाउने जाँगर कसैको चल्दैन । त्यसैले जनकपुरमा निजी अस्पतालहरु फस्टाइरहेका छन् ।’
प्रतिष्ठानका उपकुलपति डा. साह भने बजेट अपुग हुँदा सरकारी अस्पतालको सेवा सुधार कठिन भएको बताउँछन् । ‘बजेट अभावका कारण आवश्यक जनशक्ति भर्ना गर्न सकिएन । जनशक्ति कम हुँदा आईसीयू सेवालाई पूर्णरुपमा संचालन गर्न कठिन भएको छ’, उनले भने, ‘नयाँ स्वास्थ्यमन्त्रीसँग समस्या राखेका छौं, चाँडै समाधान हुने आशा छ ।’
सरकारी अस्पताल पुगेका बिरामीलाई विभिन्न नामले निजीमा जान प्रेरित गर्ने प्रवृत्तिबारे डा. साह भन्छन्, ‘सरकारीको सेवा र सुविधा बढाउने र बिरामीलाई बहकाउमा नपर्न सचेत पार्ने हो भने यो कम गर्न सकिन्छ ।’