अजय कुमार झा
२०७९ असोज २७ गते १६:३७

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारी अस्पतालहरूको सेवाको गुणस्तरमा सुधार गर्न लागि आग्रह गर्नुभएको छ ।
प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशको समग्र स्वास्थ्यको अवस्थाको बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सरकारी अस्पतालमा कार्यरत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ईमान्दारी पूर्वक काम नगरेका कारणले मध्यम, विपन्न तथा गरिबहरू मारमा परिरहेको बताउनुभयो ।
उहाँले सरकारी अस्पतालमा काम नगर्ने तर निजीमा इमानदारीपूर्वक काम गर्ने गरेका कारणले आम जनता गुणस्तरीय स्वास्थ्य सेवा सरकारीमा नपाएपछि नीजि स्वास्थ्य संस्थामा जानका लागि बाध्य रहेको बताउनुभयो ।
प्रदेश प्रमुख मिश्रले स्वास्थ्य सेवा आम जनताको मौलिक अधिकार भएकाले गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरकारी चिकित्सकहरूलाई पेशा प्रति ईमान्दार बन्नका लागि आग्रह गर्नुभयो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले वार्षिक समीक्षालाई परिणाममुखी बनाउनका लागि तुलनात्मक समीक्षाका साथै सुधारको प्रयासका लागि प्रण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले कतिपय स्वास्थ्यका ईन्डिकेटरहरुमा प्रदेशमा थप कामकाज गर्न आवश्यक भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा बिना अन्य क्षेत्रको विकास कठिन हुने पनि बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रले स्वास्थ्य क्षेत्रको सुधारका लागि कुनै एक पक्षको प्रयासले नपुग्ने बताउँदै सबैको साथ एवं सहयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य क्षेत्रको बजेट प्रदेश स्तरबाट नै बढाउन आवश्यक भएको बताउनुभयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले मधेश प्रदेशको समग्र स्वास्थ्य अवस्थामा सुधार गर्नका लागि प्रतिष्ठानले स्वास्थ्य शिक्षा तथा अनुसन्धानमा जोड दिएको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले मधेश प्रदेशको समग्र स्वास्थ्यको अवस्थाका विषयमा प्रकाश पार्दै वार्षिक समीक्षामा आएका विषयवस्तुहरू मन्त्रालयले सम्बोधन गर्नका लागि कन्जुस्याइँ गरिरहेको बताउनुभयो ।
कार्यक्रममा महोत्तरीका एकडारा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल, धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, यूएनएफपिएका प्रदेश प्रमुख डा. नरेन्द्र मिश्र, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साह, प्रादेशिक प्रयोगशाला जनकपुरधामका निर्देशक डा.श्रवण कुमार मिश्र, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.प्रमोद कुमार यादव सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

तीन दिनसम्म चल्ने वार्षिक समीक्षामा प्रदेशभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूको अवस्था, यसले प्रदान गरेको स्वास्थ्य सेवा, भविष्यमा गर्नुपर्ने सुधारका पक्षहरूका विषयमा गहन छलफल तथा समीक्षा हुने स्वास्थ्य निर्देशक झाले जानकारी दिनुभयो ।