अजय कुमार झा
२०७९ असोज २६ गते १५:४१

जनकपुरधाम । धनुषा तथा महोत्तरी सहितका जिल्लाहरूमा बाल सुधार गृह नहुँदा विभिन्न अपराधमा दोषी ठहर भएका बालबालिकाहरूलाई अन्य कैदीबन्दीसँगै राखिएको छ ।
बालबालिकाको मानसिक तथा शारीरिक विकास नभएको बेलामा अन्य कैदी बन्दीसँगै त्यस्ता बालबालिकाहरूलाई राख्दा बालबालिकामा नकारात्मक असर पर्ने मनोविज्ञान बेपत्ताहरूले जानकारी दिनुभयो ।
जलेश्वर कारागारमा १८ वर्ष नपुगेका ६० जना बालबालिकाहरू अहिले जलेश्वर कारागारमा रहेका छन् ।
जलेश्वर कारागारका प्रमुख रामचन्द्र साहले बाल सुधार गृह नभएका कारणले अरू कैदी बन्दी भएको ठाउँमा बालबालिकाहरूलाई राख्नुपरेको जानकारी दिनुभयो ।
महिला तथा पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै ठाउँ भएपनि बालबालिकाका लागि वाल सुधार गृहको अभाव रहेको छ ।
बालकलाई पुरुष कैदीबन्दीसँग तथा बालिकालाई महिला बन्दीसँग राख्ने काम भएको छ ।
बाल सुधार गृहको निर्माण गर्नका लागि पटक पटक सरकारको ध्यानाकर्षण गर्दै आएको राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको कार्यालयले जानकारी दिएको छ ।
अहिले जलेश्वर कारागारमा क्षमता भन्दा निक्कै बढी कैदीबन्दी रहेको छ । कारागारको क्षमता १ सय ३५ जनाको भएपनि अहिले ६ सयभन्दा बढी कैदीहरू रहेका छन् ।