अजय कुमार झा
२०७९ असोज ११ गते १५:४८

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्नु भएको छ ।
आगामी मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ उम्मेदवार बन्नका लागि मुख्य न्यायाधीवक्ता झाले मुख्यमन्त्री लालबाबु राउत मार्फत राजीनामा दिनु भएको थियो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६० को उपधारा (४) को (क) बमोजिम राजीनामा स्वीकृत गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले जानकारी दिनु भएको छ ।
मुख्य न्यायाधीवक्ता झाले मुख्यमन्त्री राउतलाई गत भदौ १८ गते आफ्नो पदबाट राजीनामाको पत्र बुझाउनु भएको थियो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नंं ३ बाट जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिने तयारी गर्नु भएको थियो ।
सोही क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर गत निर्वाचनमा विपक्षी भन्दा तेब्बर मत अन्तरले निर्वाचित हुनु भएको थियो ।