spot_img

काठमाडौं ७ मा मानुषी यमी नै किन ?

– केशब अर्याल काठमाडौं । संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले मिडियादेखि चिया पसलसम्म सम्भाव्य उम्मेदवारको चर्चा सुरु भएको छ । उम्मेदवारको चर्चामा नेतादेखि अभिनेता, संगठितदेखि स्वतन्त्र धेरै थरीका पात्रहरु छन् । दलहरुले भने प्रत्यक्ष तर्फ उम्मेदवार टुङ्ग्याई सकेका छैनन् । काठमाडौंमा पनि धेरै थरीका उम्मेदवारहरुको चर्चा छ । चर्चाका बिचमै काठमाडौं क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराई उम्मेदवार बन्ने पनि उत्तिकै चर्चा छ । जुन कुरा मानुषी स्वयंमले पनि स्वीकारेकी छिन् ।
काठमाण्डौं सातका मतदाताको चाहना निर्वाचन क्षेत्र नम्बर ७ मा मानुषी उम्मेदवार बनुन् भन्ने आफूहरुले चाहेको स्थानीय मतदाता बताउँछन् । काठमाडौं ७ का मतदाताले पनि मानुषी यमी काठमाडौं ७ बाट उठ्दा उपयुक्त हुने बताईरहेका छन् । मतदाता भन्छन्, ‘मानुषी यमि उठ्दा राम्रो हुन्छ, किनकी उनले काठमाडौंको नेवारी सस्कृतिसँगै गैरनेवार संस्कृति बुझ्ने क्षमता राख्दछिन् । युवा र पाका दुवैको मनोविज्ञान बुझ्न सक्छिन् । देश विदेश बुझेकी छिन् । उनको प्रतिनिधित्वले महिला र युवा दुवैको प्रतिनिधित्व हुन्छ । समयले नेतृत्वमा नयाँपन खोजेको छ त्यो पनि पुरा हुन्छ । उनमा बिषय विज्ञता युवा जोस जागर, विकसित प्रविधिको ज्ञान, स्थानिय जनता बिच सहज पहुँच जस्ता विशेषता छन् ।’
स्वयम मानुषी यमीले पनि संघीय संसदमा संवैधानिक प्रावधान अनुरुप जो जहाँबाट उम्मेदवार बन्न सक्ने भए पनि आफू जन्मिएका हुर्किएको ठाउँ, आफू मतदाता रहेको स्थान, साथीभाईको आग्रह, अनी आफ्ना बाजेबजैले सोही स्थानबाट राणा शासन बिरुद्ध संघर्ष गरेको इतिहास भएकोले काठमाडौं ७ बाट उम्मेदवार बन्नचाहेको बताउँछिन् ।
यो क्षेत्र यसअघि आमा हिसिला यमीले निर्वाचन जितेको क्षेत्र पनि हो । जन्मथलो कर्मथलो भएकोले काठमाडौं सातसँग विशेष सम्बन्ध भएको बताउँदै मानुषीले भन्छिन, ‘पार्टीले भनेमा सात मात्र होइन जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु । मेरो चाहना अलिबढी काठमाडौं ७ नम्बर क्षेत्र हो । किनकी बाल्यकालमा हुर्केबढेको ठाउँ भएकोले रगतमा यहाँको माटोको सुगन्ध छ ।’
अहिले चर्चामा आएका उम्मेदवारहरु मध्ये मानुषी साँच्चै आशा लाग्दो व्यक्तित्व पनि हुन् । उनलाई मुलुकको जुनसुकै क्षेत्रबाट भए पनि संघीय संसदमा पठाउन सक्दा संसदको गरिमा बढ्छ । मानुषीको क्षमता माथि न्याय हुन्छ, एउटा फक्रँदै गरेको कोपिला फुल्ने अवसर पाउछ । बढ्दै गरेको मुनालाई मलजल हुन्छ । प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो, जहाँ जनताले आफूमाथि शासन गर्ने प्रतिनिधि आफै चयन गर्दछन् ।
त्यसैले निर्वाचन प्रजातन्त्रको मुटु हो । तर हाम्रो जस्तो विकासन्मुख देशमा जनताले मत दिँदा यो मर्म कति बुझ्छन्, त्यो अलग बिषय छ । मतदाताहरुलाई मनी , मसल र मिडियाले कसरी प्रभाव पार्द ,त्यो देखे भोगेकै कुरा छ । जनतामात्र किन ? उम्मेदवारलाई टिकट दिने नेताहरुले पनि इमान्दार र क्षमतावान व्यक्तिमाथि न्याय गर्छन् कि गर्दैनन् प्रश्न गर्ने र आशंका गर्ने ठाउँहरु प्रसस्तै छन् । होइन भने मुलुकमा शसस्त्र जनयुद्ध सुरु गरेदेखि प्रत्यक्ष रुपमा त्यसका दुखकष्ठ झेल्दै आएकी मानुषीले पार्टीले टिकट देला कि नदेला भनेर दोधारमा पर्नुपर्ने पात्र होइन ।
जनयुद्ध सुरु हुँदा उनी दश वर्षकी थिइन । त्यति नै बेला बुबा डा. बाबुराम भट्टराई र आमा हिसिला यमी भूमिगत भए । त्यसपछि उनी काकी र ठुली आमासँग बसेर पढ्न थालिन् । बाबुराम भट्टराई र हिसिला यमीलाई खोज्दै हिडेका गुप्तचरले बाबुराम र हिसिलासम्म पुग्ने माध्यम मानुषी हुन सक्ने ठम्याइकासाथ मानुषीको पिछा गरे । मानुषी पक्राउ पर्ने सम्भावना बढ्यो । पक्राउबाट बच्न नाबालकै छँदै मानुषी भारत पस्न बाध्य भईन । भारतका विभिन्न स्थानमा पढ्दा उनले आफ्नो नाम परिवर्तन गरिन र राखिन अस्मिता सिंह ।
बाबुको नाम राखिन् सुरेश सिंह जुन अहिले पनि उनको नागरिकतामा साक्षीका रुपमा छ । जब उनी राजनीति बारे बुझ्ने भइन, त्यति बेलासम्म जनयुद्ध आगोका लप्काहरु बिचबाट अगाडी बढ्दै थियो । राज्यले हिसिला र बाबुरामलाई आतंककारी घोषणा गरीसकेको थियो । राज्यमा बस्नेले यिनीहरुको टाउको ल्याउ झोलाभरी पैसा लैजाउ भन्दै मार्न उक्साउथे । राज्य नियन्त्रित सञ्चार माध्यममा यस सम्वन्धी सार्बजनिक सूचना बजीरहन्थे । त्यो बेला बाबुराम र हिसिला कुनै पनि क्षण मारिन सक्थे ।
यस्तैमा एक दिन हिसिला र बाबुरामले आफ्नो एक मात्र सन्तान मानुषीलाई भने, मानुषी हामी कुनै पनि बेला मारिन सक्छौ, त्यसपछि तिमी के गर्दछ्यौ । सबै प्राणीमा आफना जन्मदाताको अतिनै माया हुन्छ । किनकी संसारमा सबै चिज बजारमा किन्न पाईन्छ बाबु आमा गुमाएपछि पुनः पाईदैन । यो ध्रुवसत्य बुझ्ने भईसकेकी मानुषी भने आमा बुबाको मृत्युका कुरा गर्दा कति पनि विचलीत भइनन् बरु जवाफ दिईन । तपाईहरुले अंगालेकै बाटोमा हिड्छु । उनले बा आमालाई प्रश्न गरिन, म पनि मारिन सक्छु, म मरे तपाईहरु के गर्नु हुन्छ ? आमा बुबाले जवाफ दिए तिम्रो स्मृतिलाई जिवित राख्न तिम्रै नाममा ट्रष्ट खोल्छौ । देश र जनताको मुक्तिका सपना पुरा गर्न यसरी नै लागिरहन्छौं । यसरी जनयुद्धका हरेक चुनौती सामना गरेर आएकी पात्र हुन मानुषी ।
मानुषीमा बिशेष के छ ? मानुषीमा सिप छ, शैली छ, परिवर्तनका एजेण्डाप्रति प्रष्ट बुझाई छ । सांगठनिक क्षमता बैचारिक सुस्पष्टता छ । सबै हिसाबले उनी अब्बल छिन् । उनले आफ्ना बुबा आमा पद र शक्तिमा हुँदा त्यसको दुरुपयोग गरीनन् । यसैलाई कमजोरी ठान्ने हो भने त्यसको जवाफ छैन । जति बेला डा. बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्री थिए, त्यसबेला उनी सार्वजनिक यातायात चढेर त्रिभुवन विश्वविद्यालयमा गएर आम जनताका छोराछोरी सँगै पढिन् । बिद्यार्थी हुँदा असल बिद्यार्थीको रुपमा सधै कक्षमा बसिन्, सामान्य चिया पसलमा सामान्य खाजा खाइन, बुबा आमाको रवाफ लगाइनन् ।
यही इमान्दारिता र सरलतालाई कमजोरी ठान्ने हो भने यो कमजोरी दोहोर्याउन उनी तया छिन, होइन भने उनीमा के कमजोरी छ ? मुलुकको जेठो विश्वविद्यालय त्रि.विको स्ववियु सचिव सबैभन्दा बढी मत ल्याई जीतेर सांगठनिक क्षमता देखाइसकेकि छिन् । मास्टर्स डिग्रीमा राजनीति शास्त्रमा स्वर्णपदक जित्ने तिष्ण विद्यार्थी हुन् उनी । एमफिल गरेर पिएचडीको पढाई अगाडी बढाईरहेकी उनी एक युवा बौद्धिक व्यक्ति हुन् । आफ्नो छुट्टै व्यक्तित्व भएकी मानुषीलाई बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मात्र भनेर बुझियो भने यो मानुषीको क्षमता र व्यक्तित्वमाथि अन्याय गरेको ठहरिन्छ । त्यसैले टिकट दिनेहरुले ख्याल गर्नु पर्दछ, एउटा विशाल सम्भावना बोकेको युवालाई अगाडी बढ्न खोज्दा बाटो छेक्ने होइन बाटो खुल्ला गरिदिनु पर्दछ ।
के छन् ऐजेण्डा ? मानुषी सांसद भनेर चिनीनकै निम्ती मात्र संसदमा छिर्न खोजेकी पनि होईनन् । उनले प्रष्ट रुपमा भन्दै आएकी छिन् मुलुकको अवस्था ठिक बनाउन पहिला सहि नीति, नेतृत्व र योजना हुनु पर्दछ । सही नीति र योजना निर्माण गर्ने योग्य व्यक्तिहरु नीति निर्माण गर्ने तहमा पुग्नु पर्दछ । आफू त्यसकै प्रयत्नमा रहेको उनले सार्वजनिक रुपमै बताउँदै आएकी छिन् । केबल चुनाव उठ्नका निम्ती उठ्ने होइन । उनीसँग मुलुकका समस्या समाधान गर्ने योजना र दृष्टीकोण छन् । तिनै योजना र दृष्टीकोण नीति निर्माण गर्ने तहमा पुर्याउन चाहिन्छन् मानुषी ।
मानुषी भन्छिन्, ‘अहिले शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक संमृद्धि जस्ता बिषय मेरा एजेण्डा हुन् । हामीले हजारौं शहिदहरुको बलिदानीबाट व्यवस्था बदल्यो अब अवस्था बदल्नु छ । म तीनै अवस्था बदल्ने एजेण्डा सांसदसम्म पुराउन चाहन्छु । त्यसैले त्यस्तो अवसरको खोजीमा छु । मानुषी भन्छिन, अहिलेको एउटा प्रमुख समस्या बलिदानबाट प्राप्त राजनीतिक अधिकार र ती अधिकार कार्यन्वयन गर्न देशको कमजोर अर्थव्यवस्था बिचको अन्तरबिरोध हो । संविधानमा गाँसवास कपासको सुनिश्चितता गर्ने व्यवस्था राख्यौं तर लागु गर्न सकिएको छैन । अहिले पनि २१ प्रतिशतभन्दा बढी जनता गरीबीको रेखामुनी छन् । जस्ले भरपेट खानकै निम्ति दैनिक संघर्ष गरिरहेका छन् । संविधानमा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने सुनिश्चित ग¥यौं तर व्यवहारमा अहिले पनि देशका बिकट क्षेत्रमा सुत्केरी व्यथाले छटपटाई रहँदा समयमै अस्पताल पुराउन नसक्दा आमा र बच्चाका अकालमै मृत्यु हुन्छ ।
गाउँ घरको के कुरा राजधानीमै समस्या छ, कोभिडको बेला सास फेर्न नसकेर अपस्पताल लान खोज्दा अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर कतिले अपस्पताल खोज्दा खोज्दै एम्बुलेन्समै ज्यान गुमाउनु पर्यो । कतिले घरको एकान्तवासम ज्यान गुमाउनु पर्यो । स्वास्थ्य प्रणाली अत्यन्त कमजोर मात्र होइन महंगो पनि छ । अहिले पनि विकट क्षेत्रमा रुघाखोकी लाग्दा समयमा सिटामोल नपाएर ज्यान गुमाउनु पर्ने पिडादायि अवस्था छ । देश बनाउने हो भने शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्दछ । तर शिक्षाको हालत बेहाल छ । सार्वजनिक विद्यालयहरुले सोचे जस्तो परिणाम दिन सकेका छैनन् ।
निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरु अत्यन्त महंगा छन् । एकजनाको कमाईले एउटा बच्चा मात्र पढाउन पनि नपुग्ने अवस्था छ । डाक्टरी पढाई कति महंगो छ, एम.वि.वि.एस पढ्न सरकारले तोकेकै फि ४० लाख छ, अप्रत्यक्ष त ७० लाखभन्दा बढी लाग्दछ । अति गरीब, गरीब मात्र होइन मध्य स्तरकै अभिभावकले आफ्ना सन्तानलाई चाहेको शिक्षा दिन नसक्ने अवस्था छ । देशभित्र आफ्नो भविष्य नदेखेर क्षमतावान युवा युरोप, अमेरीका, अष्ट्रेलिया विद्यार्थीको रुपमा गएर उतै बस्ने स्वदेश नफर्कने भयावह अवस्था छ । त्यस्तै अदक्ष युवाहरु खाडी राष्ट्र गई आफ्नो युवा जीवनको रगत पसिना विदेशी भूमिमै रित्याउने बाध्य छन ।
देश तिनै युवाले विदेशमा रगत पसिना बगाएर आएको रेमिट्यान्सले चलाउनु पर्ने अवस्था छ । यस्तो हो भने अबको २० वर्षपछि नेपाल बृद्ध अभिभावकको बृद्ध आश्रम जस्तै हुने छ । पछिल्लो एक दशकको तथ्याङक हेर्ने हो भने हरेक महिना औषत ५५ जना नेपाली श्रमिकले विदेशी भूमिा ज्यान गुमाएका छन् । पछिल्लो एक दशकमा ६ हजार ७०० भन्दाा बढी नेपाली युवाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको सरकारी आँकडाले नै देखाउँछ । यो अवस्था कस्ले सुधार्ने ? यो सुधार्ने हामीले नै हो ।
त्यसैले देश बनाउने हो भने मुलुकको शिक्षा प्रणाली सुधार गर्नु पर्ने हुन्छ । प्रत्येक नागरीकले स्वास्थ्य सेवा पाउने व्यवस्था सृजना गर्नु पर्दछ । प्रत्येक वर्ष करिब ५ लाख रोजगारीका अवसर सृजना गर्नु पर्नेमा अहिले करीब एकलाख मात्र सृजना हुने गरेको छ, यस्मा सुधार गर्नु पर्ने छ । यीनै एजेण्डा सहित आफू चुनावमा जान चाहेको पनि उनले बताईन ।
आज भन्दा ५० वर्षअघि आर्थिक रुपले नेपाल भारत र चिनकै हाराहारीमा थियो । अहिले आर्थिक रुपले छिमेकी चिन र भारतले कति विकास गरिसके, हामी भने पछि प¥यौ । छिमेकमा भएको ठूलो जनसंख्या र बजारको समेत फाईदा लिदै हामीले पनि दुई अंकको आर्थिक बृद्धिदर गर्नु पर्दछ । चिन विश्वको दोस्रो र भारत विश्वका पाँचौ ठूलो अर्थतन्त्र भएको देश हो, यसको हामीले पनि फाईदा लिन सक्नु पर्दछ । नेपाल राम्रो बनाउने मुख्य आधार भनेको युवाशक्ति हो । युवाको ज्ञान सिप र क्षमता देशको निम्ती प्रयोग हुने बातावरण बताउनु पर्दछ । आफ्नो उम्मेदवारी युवाको प्रतिनिधिका रुपमा पनि हो भन्दै मानुषीले भनिन्, ‘देश विग्रियो भनेर नेता र पार्टीलाई गाली गरेर समस्या समाधान हुँदैन । नत फिल्म जस्तै कुनै हिरो वा तिलस्मी व्यक्ति आएर समस्या समाधान गरिदिन्छन् । हाम्रो देशका समस्या हामीले समाधान गर्ने हो, त्यही समाधान गर्ने खाकासहित म उम्मेदवार बन्न चाहे कि छु’ कुराकानीमा उनले बताईन ।
मुलुकका सार्वजनिक संस्थाहरुको सुधार, भ्रष्टचारको अन्त्य र शुसासन जनताका दैनिक समस्याको समाधान, विकास र समृद्धि, शुसासन, समावेशीताको सहि अर्थमा कार्यान्वयन जस्ता राष्ट्रिय एजेण्डाका साथै प्राकृतिक र सांस्कृतिक अतिक्रमणले मृत बन्दै गएको काठमाडौलाई जीवन्त बनाउने र राजधानी साँच्चै राजधानी जस्तो बनाउने आफ्ना एजेण्डा भएको बताउँदै मानुषी भन्छिन्, ‘जे भन्दा सस्तो लोकप्रियता पाइन्छ म त्यसको पछि लाग्दिन । म एजेण्डाको पछि लाग्छु । किनकी नीति, विचार र एजेण्डानै राष्ट्ररुपी जहाज आकासमा उडाउँदा चाहिने कम्पास हुन् । यसैले सहि गन्तव्यमा अवतरण गराउँछ । जनता महान हुन ढिलोचाँडो जनताले सत्य कुरो बुझ्ने छन् । सत्य र इमान्दारीताको पक्षमा लाग्नेलाई साथ दिनेछन् ।’
[image: मनुषी-यमी1664090873.jpg] मानुषी यमी
यही मान्यतामा अडिग मानुषीले भनिन, ‘मैले गफ र भाषणमा विस्वास गर्दिन । म काममा विस्वास गर्ने व्यक्ति हुँ । अब सपना होइन परिणाम चाहिएको छ । यसको निम्ति नीति र नेतृत्व सही हुनु पर्दछ । चुनाव वा राजनीति जनताका अतृप्त सपनाको व्यापार गर्ने मेला होइन । यो त समाज रुपान्तरणको माध्यम हो । त्यसैले मलाई विस्वास छ, परिणाम राम्रो आउँछ किनकी जनताको हाँसो र आँशुको मर्म मैले बुझेकी छु । मलाई थाहा छ, जनताको रगत र पसिनाको कुनै मुल्य हुँदैन, त्यो अमूल्य छ । त्यसैले जनताको बलिदानी, रगत र पसिना बगाएर ल्याएको परीवर्तनका एजेण्डालाई अलपत्र पार्नु हुन्न तिनलाई स्थापित गर्नु पर्दछ । यसको निम्ति पनि आफू जस्ता व्यक्तिहरुको संसदमा उपस्थित हुनु पर्ने’ बताउँदै मानुषीले विटमारीन् ।
हो सुरुमा हिड्न सिक्दै गर्दा लड्न सकिन्छ, लडिन्छ पनि तर उठेर धुलो टकटक्याँदै पुन हिड्नु पर्दछ । बाल्यकालमा पहिलो पाईला चाल्दा लडेर घुडामा लाग्ने घाउनै जीवन अगाडी बढाउन धर्तीमाताले दिएको जीवन दर्शन र शिक्षा हो । सके गल्ति नगर्ने हो । भइहाले सच्चाउँदै अगाडी बढ्ने हो । यसको निम्ती सबैको साथ चाहिन्छ । आकासमा उड्न प्रयास गर्दै गएको बचेराको पखेटा काटिदिने होइन कावाखादै निलो आकास उड्न सिकाउनु पर्दछ ।
-लेखक अर्याल नेपाल समाजवादी पार्टी निकटका पत्रकार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img