spot_img

अपहरणको १३ वर्षसम्म अवस्था अज्ञात रहेपछि परिवारले गर्‍यो किरिया

७ असोज, सप्तरी । यदि मृत्यु नै भएको भए आफ्नै आँखा अगाडि दाहसंस्कार गरेर किरिया कर्म गर्ने इच्छा थियो कृष्णदेव विश्वासका परिवारको । तर, लामो समयसम्म अवस्था नै अज्ञात देखिएपछि बाध्य भएर विश्वासको किरियाकर्म गरेका छन् उनको परिवारले ।

सप्तरीको तत्कालिन भारदह गाविस १ (हाल हनुमाननगर कंकालिनी नगरपालिका १) निवासी कृष्णदेव ११ असार २०६३ को राति अपहरणमा परेका थिए । आफ्नै घरमा सुतिरहेको अवस्थामा ४/५ जनाको संख्यामा आएका हतियारधारी समूहले उनको अपहरण गरेको थियो ।

सप्तरीसहित मधेशका जिल्लामा अपहरणको क्रम बढिरहँदा उनी पनि अपहरणको शिकार भएका थिए । तर कसले या कुन समूहले अपहरण गरेको हो भन्ने खुलेनन् ।

कसैले अपहरणको जिम्मेवारी पनि लिएन् । उनी फर्केर आउँछन् भन्ने विश्वास परिवारलाई थियो । तर, १३ बर्षसम्म कुनै अतोपत्तो नलागेपछि कृष्णदेवको बिहीबार श्राद्ध गरिएको छ ।

कृष्णदेवका जेठा छोरा सुकनन्दन विश्वास (२४) ले हिन्दु संस्कार अनुरुप आफ्ना पिताको किरिया गरेका छन् । ‘त्यस बेला त म ११ बर्षको मात्रै थिएँ’ सुकनन्दनले भने, ‘बुवाको माया समेत पाउन सकिनँ ।’

उनले चारैतिर खोजबिन गरेपनि अवस्था पत्ता लाग्न नसक्दा बाध्य भएर किरिया सम्पन्न गरेको कृष्णदेवकी पत्नी चनरदेवीले बताइन् । आमा बौकियादेवी र बुवा लडुलालका जेठा छोरा थिए कृष्णदेव ।

७५ वर्षका बुवा र ७४ बर्षकी आमाको दाह संस्कार गरेर किरिया बस्ने छोराकै आफ्नै आँखा अगाडि किरिया गर्नुपरेको देख्दा उनका आमा बुवाको आँखा रसाएका छन् । ‘के गर्नु भाग्यमा यहीं लेखिएको थियो’ कृष्णदेवकी आमा बौकियादेवीले भनिन्, ‘के गर्नु आफ्नै आँखा अगाडि अवस्था अज्ञात रहेका छोराको किरिया कर्म हेर्नुपर्‍यो ।’

‘पतिको अवस्था पत्ता लगाउन कहाँ–कहाँ गइनँ’ कृष्णदेवकी पत्नी चनरदेवीले भनिन्, ‘कति पटक प्रहरी कार्यालय गएँ थाहा छैन् । चिनजानका सबैसँग कुराकानी गरें । तर पतिको अवस्थाबारे जानकारी पाउन सकिनँ ।’

१३ बर्षदेखि अवस्था अज्ञात रहेपछि मृत्यु भइसकेको आशंका गर्दै परिवारजनले किरियाकर्म गरेका छन् ।

२०६२÷६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाएका विश्वास नेपाली कांग्रेसमा आबद्ध थिए । स्थानीयहरुका अनुसार जनआन्दोलनका क्रममा भारदहमा रहेको राजा बिरेन्द्रको शालिकको हात उनले भाँचेर नजिकै रहेको कोशी नदीमा बगाएका थिए ।

‘खुल्ला राजनीतिमा लागेका उनलाई कसैसँग कुनै किसिमको दुश्मनी थिएन’ नेपाली कांग्रेसका जिल्ला नेता उमेश मिश्रले भने, ‘निर्धक्कका साथ कुरा राख्ने युवा थिए कृष्णदेव विश्वास । कसैले षडयन्त्रपूर्वक उनको अपहरण गरेको हुनुपर्छ ।’

अपहरणमा परेपछि उदयपुरको चतरा, भारत बिहारको कुनौली कमलपुर, बिहारकै राघोपुर र मधेपुरामा पनि खोजतलास गरिएको मिश्र बताउँछन् । ‘प्रहरीको सुराकीदेखि तान्त्रिकले देखाएको ठेगानासम्म पुग्यौं, तर कृष्णदेवको अवस्थाबारे पत्ता लागेन’ उनले भने, ‘ उनको अपहरण भएकै दिन हत्या गरिएको हुन सक्छ ।’

यद्यपि, हत्या भएको खुल्न नसकेको उनले बताए । अवस्था लामो समयदेखि अज्ञात रहेकाले परिवारले हिन्दू परम्परा अनुसार श्राद्ध गरेको मिश्रले बताए ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img