काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काएको छ। अनधिकृत रुपमा संरचना बनाएको भन्दै ‘वार्निङ’ दिँदै हिँडेका मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा डोजर लिएर पुगेका थिए।
अल्फाबिटाले भूँइ तलालाई पार्किङको सट्टा व्यावसायिक प्रयोजनको लागि प्रयोग गरेको भन्दै महानगरले सो संरचना भत्काएको हो।
आज बिहान बालेन नयाँ बानेश्वर,शंखमुल र बुद्नधगर क्षेत्र पुगेका थिए। नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन उनले सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका थिए। पार्किङमा भएका व्यवसायहरु हटाउन निर्देशन दिएका छन्।
जब उनी बुद्धनगरस्थित अल्फाबिटामा पुगे, त्यहाँ भने माहोल केही तात्यो। घरधनीले केही समय दिन आग्रह गरेका थिए। यद्यपि, महानगरले अनधिकृत संरचना डोजर चलाएको छ।सो क्रममा मेयर साहले प्रश्न गरेका थिए- ३५ दिनको सूचना दिँदा केही गर्न सक्दैन भनेर बसेको होइन ?
नक्साको अध्ययन गरेर महानगरले अलफाबिटाको अनधिकृत संरचना भत्काएको हो। धेरै संख्यामा प्रहरी र महानगर प्रहरी परिचालन गरिएको थियो। सो क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआइजी मिरा चौधरीसहितको सुरक्षा टोली पनि उपस्थित थियो।