बुटवलः पाल्पामा एक महिनाको अवधिमा १३ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदनमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार एक महिनामा दर्ता भएका ३० वटा घटनामध्ये १३ वटा घटना आत्महत्या सम्बन्धी छन्। जसमा ११ जनाले झुण्डिएर, एक जना विषादी सेवन तथा एक जनाले नदीमा हामफालेर ज्यान गुमाएका छन्।
त्यसैगरी एक महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी १५ वटा उजुरी परेका छन्। उजुरी परेकामध्ये अधिकांश मुद्दालाई मिलापत्र गराउने काम भएको छ। प्रहरी प्रतिवदेनअनुसार प्राप्त उजुरीमध्ये १२ वटा मुद्दामा मिलापत्र गराइएको छ। ३ वटा अदालती प्रक्रियामा अघि बढेका छन्।
कार्यालयमा परेका ७ वटा ठाडो उजुरीमध्ये ६ वटामा मिलापत्र गराइएको छ भने एक बाँकी छ।
साउन महिनामा पाल्पामा १९ जना महिला तथा ११ जना बालबालिका हराएका छन्। हराएकामध्ये १४ जना महिला भेटिएका छन् भने ५ जना अझै बेपत्ता छन्। यसैगरी हराएका ११ जना बालबालिका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयले समाजमा दुर्घटना न्यूनीकरण तथा सुरक्षा कार्यक्रमअन्तर्गत समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साउन महिनामा प्रहरीले ११ वटा विद्यालयस्तरका तथा ३७ वटा समुदायस्तरका कार्यक्रम सञ्चालन गरेको थियो।
जिल्लामा साउन महिनामा सडक सुरक्षाअन्तर्गत एक हजार २१५ सवारी कारबाहीमा परेका छन्। जसमा २४५ ट्रिपर, १२७ बस, ३५६ जीप, कार तथा भ्यान, ९७ ट्याक्टर, ३७५ वटा मोटरसाइकल रहेका छन्। कारबाहीबाट ७ लाख ८४ हजार राजस्व संकलन भएको छ। १५ जना चालक मापसे कारबाहीमा परेका छन्।