spot_img

‘हेभीवेट’ नेता रहेको गुल्मीमा को-को ‍छन् उम्मेदवार बन्ने लाइनमा ?

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि नेताहरूले निर्वाचन क्षेत्र छान्न भित्रभित्रै गृहकार्य सुरु गरिसकेका छन्। ‘हेभीवेट’ नेता रहेको गुल्मीमा यसपटक पनि चर्चित नेताहरूबिच नै रोचक प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ। सबै दलहरू आउँदो निर्वाचनको तयारीमा जुटिसकेका छन्। यद्यपि, कुन पार्टीको कुन नेता कहाँबाट चुनाव लड्ने भन्नेबारेमा अहिलेसम्म टुंगो लागेको छैन।

प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ निर्वाचन क्षेत्र रहेको जिल्ला हो गुल्मी। २०७४ सालको निर्वाचनमा गुल्मीका दुबै क्षेत्रमा नेकपा (एमाले)ले जीत निकालेको थियो। एमाले नेताहरूले गुल्मीका दुवै निर्वाचन क्षेत्रमा अहिले पनि सहजै चुनाव जित्ने दाबी गर्दै आएका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन आएको मतलाई हेर्ने हो भने एमालेको सबैभन्दा बढी मत देखिन्छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मीमा नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले ४ पालिका जित्दा एमाले ३ पालिकामा खुम्चिएको थियो। गठबन्धन कायम रहे पनि एमालेले कडा टक्कर दिने अवस्था छ यहाँ।

गुल्मीबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी, नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, पूर्व मुख्यसचिव लिलामणि पौडेल, चन्द्र केसी, प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल पनि उम्मेदवार बन्ने चर्चा छ।

 

 

क्षेत्र नम्बर १ मा ज्ञवाली र भण्डारी कै चर्चा

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीबिच नै प्रतिस्पर्धा हुने सम्भावना छ। ज्ञवाली २०७४ सालमा पनि गुल्मी क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन्। ज्ञवालीले २०६४ र २०५४ मा पनि गुल्मी २ बाट चुनाव जितेका थिए। २०७० सालमा भने यस क्षेत्रबाट चन्द्र भण्डारी विजयी भएका थिए। २०७४ मा माओवादीसँग चुनावी तालमेल गर्दा ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गरी विजयी हुँदा भण्डारीले ३० हजार २५६ मत पाएका थिए।

भण्डारीले निर्वाचन क्षेत्र परिवर्तन गरि रुपन्देही २ बाट उठ्ने चर्चा चले पनि उनले यस विषयमा केही बोलेका छैनन्। रुपन्देही २ एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो। उनले यहाँबाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन्। भण्डारीले गुल्मी २ बाटै चुनाव लड्ने तयारी गरेको कांग्रेस नेताहरु बताउँछन्।

दुईपटक संसदमा प्रतिनिधित्व गरिसकेका माओवादी केन्द्रका सुदर्शन बराल पनि क्षेत्र नम्बर १ का बलिया उम्मेदवार हुन्। यद्यपि, माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका बराल प्रदेशको मुख्यमन्त्री बन्नेगरि फेरि पनि प्रदेशसभामा चुनाव लड्ने तयारीमा रहेको स्रोतको भनाइ छ। प्रदेशको सामाजिक विकास मन्त्री हुँदा गरेको कामका कारण उनले आफ्नो प्रभाव यहाँ बढाएका छन्।

गठबन्धन मिलाउने क्रममा माओवादीले टिकट पाएको अवस्थामा पूर्व मुख्यसचिव लिलामणि पौडेल पनि १ वा २ जुन क्षेत्रबाट भए पनि प्रतिस्पर्धी हुने चर्चा छ। चीनका लागि नेपाली राजदूतबाट फिर्ता भएपछि उनी अधिकांश समय जिल्लामा बस्दै आएका छन्। उनी जिल्लामा सक्रिय भएकाले धेरैले पौडेलले प्रत्यक्ष चुनाव लड्ने आँकलन गरेका हुन्।

माओवादी नेताहरूले भने पौडेलले प्रतिनिधिसभामा चुनाव लड्नेबारे औपचारिक रुपमा केही नबोलेको बताउँछन्। स्थानीय तह निर्वाचनमा रुरुक्षेत्र गाउँपालिकामा गठबन्धनका उम्मेदवार यदु ज्ञवालीलाई जिताउन महत्वपुर्ण भूमिका खेलेपछि पौडेल सक्रिय राजनीतिमा आएर प्रत्यक्ष चुनाव लड्ने चर्चा चलेको हो।

 

क्षेत्र नम्बर २ मा गोकर्णलाई कसले देला टक्कर?

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट सचिव गोकर्ण विष्ट उठ्ने तयारी गरेका छन्। २०७४ सालको चुनावमा कांग्रेसका चन्द्र केसीलाई पराजित गरेर विष्ट यो क्षेत्रबाट विजयी भएका थिए। उनले ३४ हजार ६ सय मत पाप्त गरि विजयी हुँदा केसीले २० हजार १ सय मत पाएका थिए। २०६४ सालमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (सागर)सँग थोरै मतान्तरले पराजित हुनुबाहेक विष्टले २०५६ सालदेखि निरन्तर यो क्षेत्रमा चुवाव जित्दै आएका छन्।

सत्तारुढ गठबन्धनले तालमेललाई निरन्तरता दिने निर्णय गरेको अवस्थामा गठबन्धनबाट सबैभन्दा पहिलो दाबी नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको देखिन्छ। स्वयं झाँक्रीले पनि आफू गुल्मी २ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने बताउँदै आएकी छिन्। उनले यसअघि एमालेबाटै प्रत्यक्ष चुनाव लड्न टिकट मागेकी थिइन्। पूर्व शहरी विकासमन्त्री समेत रहेकी उनी टिकट नपाएपछि समानुपातिकबाट सांसद बनेकी थिइन्। उनी काठमाडौंबाट चुनाव लड्न सक्ने चर्चा पनि चलेको छ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी हावी भएको छ। विष्टको आफ्नै पालिकासहित त्यो क्षेत्रका अधिकांश पालिकामा कांग्रेस र माओवादीका उम्मेदवार विजयी भएका छन्। यस्तो अवस्थामा गठबन्धनले सो क्षेत्रबाट ‘हेभिवेट’ नेतालाई उम्मेदवार बनाउने नेताहरु बताउँछन्।  

त्यस्तै प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष अर्याल पनि गुल्मी २ बाट प्रत्यक्ष निर्वाचनको तयारीमा जुटिरहेका छन्। लामो समय एमाले गुल्मी–काठमाडौँ सम्पर्क मञ्चमा रहेका अर्याल अध्यक्ष भएर काम गरेका थिए। लामो समय केन्द्रिय प्रचार विभागमा रहेर पनि उनले काम गरेका थिए।

तत्कालीन नेकपाका केन्द्रिय सदस्य बनेका अर्याल नेकपा भित्र विवाद हुँदा देखि नै जिल्लाको पार्टी काममा खटिदै आएका छन्। गुल्मी जिल्लाको पार्टी काममा केन्द्रित रहँदै आएका अर्याल पार्टी विवादका बेला जिल्लामा एमालेलाई जोगाउन निकै मिहिनेत गरेको बताइन्छ।

२०७४ सालको निर्वाचनमा विष्टसँग पराजित भएका चन्द्र केसी पनि कांग्रेसबाट उम्मेदवार बन्ने लाइनमा छन्। गुल्मी जिल्लाको जिविस सभापति भइसकेका केसी कांग्रेसका पुराना नेता हुन्।  १ वा २ जुन क्षेत्रबाट भएपनि केसी उम्मेदवार हुन चाहेको कांग्रेस नेताहरु बताउँछन्।

त्यस्तै, गुल्मी २ मा विगतमा २ वटा निर्वाचनमा गोकर्णसँग पराजित नेता त्रैलोक्य प्रताप सेनको दाबी रहेको छ भने अहिले लुम्बिनी प्रदेश योजना आयोगका सदस्य समेत रहेका पूर्व क्षेत्रीय सभापति डा. दामोदर भुसालले पनि दाबी गरेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img