काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन गरिएको कपडासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का २४ वर्षीय सोमबहादुर बिक, सोही पालिका वडा नम्बर ५ का ३० वर्षीय धनबहादुर बिक, मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २८ वर्षीय रिवाज गजमेर र सिन्धुलीको कमलामाई नगरपालिका-५ का २६ वर्षीय सागर न्यौपाने रहेका छन्।
साउन २९ गते फ्लाई दुबईको विमानमार्फत दुबईबाट काठमाडौं आएका सोमबहादुरले लगाएको पाईन्ट र भित्री वस्त्र शंकास्पद देखिएपछि जाँच गरिएको थियो। अनुसन्धानको क्रममा धन बहादुर समेत त्यसमा संलग्न रहेको पाइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, साउन ३० गते सोही एयरको विमानमार्फत दुबईबाट काठमाडौं आएका गजमेरले लगाएको पाईन्ट, गन्जी र भित्री वस्त्र शंकास्पद देखिएपछि प्रहरीले जाँच गरेको थियो। अनुसन्धान गर्दा न्यौपाने समेत त्यसमा संलग्नता देखिएका छन्।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको थियो। उनीहरुले लगाएर आएको कपडाहरु नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा सोमबहादुरको कपडाबाट ४१८.३१० ग्राम र गजमेरको कपडाबाट ५५४.४७० ग्राम सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।