spot_img

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन हुँदैन : डा सीके राउत

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्।

मंगलवार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी कार्यकर्ताहरुलाई दिएका हुन्। केही सिटमा भने तालमेल हुन सक्ने अध्यक्ष राउतले जनाए।

‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गरेर जाँदैनौँ’, प्रशिक्षणमा डा राउतले भने, ‘केही सिटमा तालमेलको सम्भावना छ। कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौँ। कुनै क्षेत्रमा मिलाएर उम्मेदवारी दिइन सकिनेछ।’

अध्यक्ष राउतले जनमत पार्टीले तराई-मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा समेत उम्मेदवारी दिने बताए। पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तयारी गर्न अध्यक्ष राउतले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले मधेश केन्द्रित शक्तिहरुबिच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कित्तामा उभिन खोजेको आरोप लगाए।

‘हाम्रो पार्टी मधेशको मूल पार्टी हो। हामी मधेश र मधेशको मुद्दाप्रति जिम्मेवार छौँ। त्यसैले हाम्रो पार्टीका अध्यक्ष डा सीके राउतले जसपा र लोसपाका अध्यक्षहरुलाई भेटेर मधेशकै मुद्दामा कायम रहन आग्रह गर्नु भयो। तर, उहाँहरु अन्य पार्टीको पछाडि लाग्नु भयो’, नेता साहले भने, ‘जसपा र लोसपालाई मधेश र मधेशीप्रति माया मोह छ भने मधेशमा उहाँहरुसँग तालमेल गर्न तयार छौँ।’

नेता साहले जनमत पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको र वडा स्तरमा सशक्त रुपमा तयारी भइरहेको जानकारी दिए। नेता साहले पार्टी बाहिरबाट पनि कोही उम्मेदवार बन्न चाहेको खण्डमा आफूहरु खुल्ला रहेको जानकारी दिए।

प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी थिए। जनमत पार्टीले आगामी चुनाव केन्द्रित मधेशका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img