काठमाडौं : पाँच दलीय गठबन्धनले दुई विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको छ। मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक र नागरिकता विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो।
‘सत्य निरुपण तथा मेलमिलाप आयोग टिआरसी विधेयकका सम्बन्धमा वृहत रुपमा छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेका सरोकारवाला मानवअधिकारकर्मी विभिन्न तह र तप्का तथा संघसंस्थाहरुसँग परामर्श गरी उहाँहरुले दिएका सरसल्लाह र सुझावहरुलाई गहन रुपमा गठबन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुङ्ग्याउन टिआरसी विधेयकलाई अगाडी बढाउने सहमति भएको छ,’ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यससम्बन्धमा कानुनमन्त्री केहीदिन अघिदेखि गहन रुपमा छलफलमा हुनुहुन्छ। अब टिआरसीको समस्या सदाका लागि अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदछु।’
यसैगरी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पुन संसदमा दर्ता गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने गठबन्धनको बैठकले निर्णय गरेको छ। ‘नेपाली नागरिकता ऐन – २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट फिर्ता आएकोमा फिर्ता आएकोमा संविधान बमोजिम प्रमाणिकारणका लागि उक्त विधेयकलाई संसदमा तत्काल प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने। राष्ट्रपति भण्डारीले आइतवार संसदको ध्यानाकर्षण गराउँदै नागरिकता विधेयक फिर्ता पठाएकी थिइन्।