spot_img

अन्तिम प्रतिवेदन तयार पार्ने गृहकार्यमा गठबन्धनको कार्यदल, भागबण्डाको मापदण्ड माधव नेपालको पार्टीको हकमा लागू नहुने

काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठकले बुधवारसम्म प्रतिवेदन दिने तयारी गरेको छ। कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले बाँडफाँटको काम सक्न व्यवस्थित तरिकाले काम सुरु भएको जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले बाँडफाँटको काम बुधवार सक्ने गरी गृहकार्य गर्ने टुंगोमा पुगेको हो।

‘चाँडो भन्दा चाँडो गृहकार्य पूरा गर्न व्यवस्थित रुपले काम सुरु गरेका छौँ। बुधवार ४ बजे फेरी बस्छौँ,’ उनले भने।

साउन २० गते गठन भएको कार्यदलको पहिलो बैठक साउन २३ र दोस्रो बैठक साउन २६ गते बसेको थियो। आज बसेको तेस्रो बैठकमा पनि मापदण्डका बारेमा छलफल भएको कार्कीले जानकारी दिए।

मापदण्ड के हो?

कार्यदलले भागबण्डाका लागि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा दलहरुले पाएको मतलाई आधार बनाउने छ। यस्तै, स्थानीय तह २०७९ लाई पनि आधार मानिने कार्कीले बताए।

तर, नेकपा (एकीकृत समाजवादी)को हकमा भने उक्त मापदण्ड लागू नहुने भएको छ। २०७८ भदौमा एकीकृत समाजवादी गठन भएको र स्थानीय चुनाव बाहेकका चुनावमा उक्त दल सहभागी नभएकाले विशिष्ट अवस्था भन्दै कार्यदलले मापदण्ड बनाउने छ।

‘२०७४ सालको निर्वाचनको मत, प्रत्यक्ष र समानुपातिक मत र २०७९ को स्थानीय तहको चुनावलाई आधार मान्ने। माधव नेपालको पार्टीलाई विशिष्ट रुपमा राखेर अगाडि बढ्छौँ,’ कार्कीले भने।

कार्यदलमै टुंग्याउने प्रयास

कार्कीले कार्यदलकै तहमा बाँडफाँटको काम सकेर गठबन्धन अगाडि बढ्ने बताए। उनले चाँडै सक्नेगरी गृहकार्य भइरहेको बताएका छन्।

उनले गठबन्धनमा आउन चाहने दलहरुसँग कुराकानी हुनु स्वभाविक भएको पनि बताएका छन्।

‘सिट बाँडफाँट चाडै गर्नुपर्छ। सकेसम्म हाम्रै तहमा मिलाएर प्रतिवेदन पेश गर्ने गृहकार्य छ। हामी कसैका विरुद्ध गठबन्धन गरिरहेका छैनौँ, आउन चाहनेका लागि कुरा गर्नु स्वभाविक हो,’ कार्कीको भनाइ छ।

पाँच दलीय गठबन्धनमा कुन दललाई कति सिट दिने भन्नेबारेमा टुंगो लागिसकेको छैन। अघिल्लो बैठकमा आन्तरिक ‘वर्कआउट’पछि मात्र आजको बैठकमा सहभागी हुने सहमति भएको थियो।

सरकारले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ। चुनाव घोषणा भए यता सत्तारुढ दलहरु कुन दललाई कति सिट दिने भन्नेबारेमा आन्तरिक तथा गठबन्धनमा छलफलमा छन्। पहिलो बैठकमा आफ्नो दलभित्र छलफल गरेर दलको धारणा सहित दोस्रो बैठकमा बस्ने सहमति भएको थियो।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमालेले जितेका सिटलाई मात्र भागबण्डा गरेर अरु ठाउँमा सम्बन्धित दललाई नै उम्मेदवार उठाउन दिनुपर्ने प्रस्ताव कार्यदलको बैठकमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताहरुले गरिरहेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img