spot_img

हरेक वर्ष बाढीको त्रासमा टीकापुरवासी, कर्णाली नदीको कटान रोक्न ‍स्थानीय बनाउँदैछन् जैविक तटबन्ध

कैलाली : टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्ध निर्माणमा जुटेका छन्। टीकापुरको वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक २५० स्थानीय तटबन्ध कार्यमा जुटेका हुन्।

चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा भइरहेको छ। वनगाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ। स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन्।

स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नं ८ पूरै डुबानमा पर्ने बताउँछन्  बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नं ९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका जानकारी दिए। ‘गत वर्ष कात्तिकमा आएको बाढी यही ठाउँबाट बस्तीमा पसेको थियो, गत वर्ष वडा नं ८ पूरै डुबान भएको थियो। नदी फुटेको ठाउँ सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरेको थियो’, उनले भने, ‘यस वर्ष पनि खतरा बढेको छ। त्यसैले हामीले सिँचाइ आयोजना र नगरपालिकाले बनाएको संरचना नबगोस् भनी तटबन्धमा जुटेका हौँ, नदीले कटान बढाउँदै लगेमा वडा पूरै सखाप हुनेछ।’

तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तारजाली उपलब्ध गराएको छ। तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन्। नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैँ नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ।

‘तटबन्ध गरिरहेको ठाउँमा पानी चार मिटरसम्म छ तर तटबन्ध गर्नुपर्ने बाध्यता छ। नदीमा पानीको वहाव बढे त रोक्न सक्ने अवस्था छैन। अहिले भइरहेको कटान रोक्न हामी सकेको गरिरहेका छौँ,’ उनले भने।

गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नं ८ पूरै डुबानमा परेको थियो। नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी-जमरा-कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ। यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउँछन्। ‘म आफैँ पनि तटबन्ध कार्यमा खटिरहेको छु। लामो समयदेखि सिँचाइ आयोजना, प्रदेश र सङ्घीय सरकार गुहारिरहेका छौं,’ उनले भने, ‘सिँचाइ आयोजनाले विभिन्न ठाउँमा तटबन्धको कार्य गरिरहेको छ। तर नदीले विभिन्न ठाउँमा भत्काउँदै लगेको छ। नदी बृहत्रूपमा तटबन्ध गरेमात्रै बस्ती जोगाउन सकिन्छ।’

वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षात्मा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘नदी कटानले विभिन्न बस्ती र सत्ती पुल नै जोखिममा रहेको छ। नदी बस्तीमा पसेमा वडा नं ८ को अस्तित्व नै जोखिममा पर्छ’, वडाध्यक्ष ठकुल्ला भन्छन्, ‘वनगाउँमा नदीले हरेक वर्ष कटान गर्दै आएकोछ । नदीले करिब २५ बिघा सत्ती कर्णाली सामुदायिक वनसमेत कटान गरिसकेको छ।’

टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षात्मा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन्। नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिनेबारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img