spot_img

जानकी मन्दिरको उत्तराधिकारी विवादपछि बाहिरियो पत्र, गुठीले भन्यो : रामरोशन दास नै ‘उत्तराधिकारी महन्त’  

जनकपुरधाम : जानकी मन्दिरको उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव नै भएको गुठी संस्थान जनकपुरधामले जनाएको छ। यसअघि रामरोशन दासमाथि उत्तराधिकारी महन्तको नक्कली परिचयपत्र बनाएको आरोप लागेका थियो।

नक्कली परिचयपत्र बनाएको विषयमा विवाद बढ्न थालेपछि गुठी संस्थानले रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको स्पष्ट पारेको छ। गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मी उनलाई नै जानकी मन्दिरको उत्तराधिकारी महन्तमा नियुक्त गरेको जनाए। ‘रामरोशनजीले उत्तराधिकारी महन्तको फर्जी परिचयपत्र बनाएको आरोप निराधार हो, २०७८ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्तमा रामरोशन दास वैष्णवलाई नियुक्त गरिएको थियो,’ रेग्मीले भने।

गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट उनलाई उत्तराधिकारी महन्तमा नियुक्त गरिएको थियो। बैठकको निर्णयअनुसार पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्थ हुन तोकिएको सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्तमा नियुक्त गरिएको पत्रमा उल्लेख छ।

मन्दिरको उत्तराधिकारी महन्त नियुक्त गर्ने अधिकार महन्थको अधिकारको विषय हुन्छ। यसका साथै महन्तले बनाएको आफ्नो ज्येष्ठ चेलालाई नै उत्तराधिकारी महन्त बनाउने परम्परा रहँदै आएको छ। सोही अनुरुप जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले केही वर्ष अगाडिदेखि नै रामरोशनलाई आफ्नो ज्येष्ठ चेलाको रुपमा परिचय गराउँदै आइरहेका थिए। महन्तले नै ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर उत्तराधिकारी महन्त बनाई दिन गुठी संस्थानमा सिफारिस गरेका थिए।

जानकी मन्दिरमा हुँदै आएको विवाहपञ्चमी महोत्सवको भव्य आयोजनमा हुने खर्चको विषयमा दुई वर्ष अगाडि विवाद हुँदा पनि महन्त वैष्णवले रामरोशन नै उत्तराधिकारी महन्त रहेको स्वीकार गरेका थिए।  

‘मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्तलाई मात्रै हुन्छ,’ रेग्मीले भने, ‘त्यसैले उत्तराधिकारी महन्तले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन।’लक्ष्मण मन्दिरको आर्थिक कारोबार सोही मन्दिरका पूजारी सीताशरण दास वैष्णवले हेर्दै आइरहेका छन्। जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलगअलग रहेकाले दूबै मन्दिरको आर्थिक कारोबार पनि अलग-अलग हुँदै आइरहेको गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले बताउँछन्।

केही दिनअघि मात्रै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो। उनीविरुद्ध रामनारायण दासले उजुरी दिएका थिए। यसैगरी आजै रामरोशन दासलाई उत्तराधिकारी महन्तमा नियुक्त गरेको पत्रसमेत बाहिरिएको छ। पत्रमा रामरोशनलाई गत जेठ २ गते मन्दिरको उत्तराधिकारी महन्तमा नियुक्त गरिएको उल्लेख गरिएको छ।                                                                                  



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img