spot_img

जब पोखरासँगको साइनो खोज्दै क्यामरा बोकेर हिँडे आयुष…

जन्म पोखरामा। हुर्केको काठमाडौं। वंशको जरा भक्तपुरतिर। कास्कीका अन्तिम राजाको पालामा भक्तपुरबाट २६ नेवार परिवार पोखरा पुगेका थिए। तिनैमध्ये ‍एक परिवारका वंशज हुन् आयुष श्रेष्ठ।

काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत ब्याचलर इन फाइन आर्ट्स (बीएफए) अध्ययनरत् आयुषको क्यामरासँग प्यासन छ। क्यामरा चलाउँदा चलाउँदै फाइन आर्टस् पढ्न पुगे उनी। अध्ययनकै सिलसिलामा उनले अप्रत्यासित प्रश्न भोगे।

तिमी त पोखराको नेवार होइन ?

हो। बगर तिरको। 

तिमीहरुले त फ्यालिएको नेवार होइनौं?

होइन। हाम्रो पुर्खा भक्तपुरबाट पोखरा पुगेको थियो, व्यापार गर्न।

उनलाई त्यसबेला आफ्नो पुर्खाको इतिहासबारे धेरै थाहा थिएन। कतै लेखिएको पनि थिएन। घर परिवारमा चलेका कथामात्र सुनेका थिए। फ्यालिएको नेवार होइन भनेर प्रतिवाद त गरे तर उनलाई जान्नु थियो आफ्नो इतिहास। अनि आयुषले प्रश्न गरे : आखिर कसरी पुग्यो त उनको पुर्खा पोखरामा?

आयुषले ‘ताहामचा’ नाम दिएर त्यही विषयमा तयार पारेको ‘फोटो स्टोरी’ काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिए। साउन १६ गतेदेखि सुरु भएको ‘इम्प्रेसन’, बीएफए एक्जिबिशन प्रोजेक्टमा राखिएको उनको तस्विरहरु हेर्न पुग्ने धेरैलाई उनी पोखरासँगको साइनोको कथा सुनाए। पोखरेलीहरु पुग्दा इतिहास र तस्विरको समिश्रणले आकर्षित भएको बताउँछन् आयुष।

+++

सारा माजाले आफ्नो अनुसन्धात्मक कृति ‘थिङ्किङ अबाउट हिस्ट्री’मा लेखेकी छिन्-‘इतिहास जोकसैले पनि लेख्‍न सक्छ।’

तर यसो भन्दैमा इतिहासबारे अनुसन्धान नगरी जे पनि लेख्‍न नहुने भन्दै साराले लेखेकी छिन्- ट्राइ हेल टु बी एक्युरेट!

आयुषलाई पनि हुनु थियो ‘एक्युरेट’। यथार्थ इतिहासको यथार्थ खोज्नु थियो उनलाई। अनि ललितकलामा स्नातकको अन्तिम वर्षको ‘प्रोजेक्ट’का लागि उनले पोखरा र भक्तपुरको सम्बन्ध देखाउने निधो गरे। ‘प्यासन’ बनेको क्यामरा बोके र लागे पोखरा -आफ्नो साइनो खोज्दै।

पोखरा पुगेका उनले त्यहाँका नेवार बस्तीमा पुगेर अध्ययन गरे।कसरी बस्यो सिद्धार्थ चोकदेखि माथि विन्दावासिनीसम्मको ‘२६ कुरिया’ क्षेत्र? कुन कुन समयमा भयो बसाइ सराइ?, भक्तपुर र पोखरामा मनाइने पर्वमा के के छ समानता? आदि आदि।

तीन सय वर्षअघिको स्थानान्तरण प्रक्रियालाई तस्बिरबाट अभिव्यक्त गर्ने लक्ष्य सहज विषय होइन।

स्थानीय र इतिहासबारे जानकार व्यक्तिहरुसँग कुराकानी गर्दा उनले थाहा पाए- पोखरामा विभिन्न चरणमा काठमाडौं उपत्यकाबाट नेवारहरु पोखरा पुगेका रहेछन्।

भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लसँग कास्कीका अन्तिम राजा सिद्धनारायण शाहको राम्रो सम्बन्ध थियो। शाहले मल्लसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ नेवार परिवारलाई भक्तपुरबाट पोखरा लगेर बसालेका थिए। २६ परिवार त्यसबेला भक्तपुरको राजदरबार क्षेत्रमा बस्थे।

बसाइसराइ चल्दै गर्दा पृथ्वीनारायण शाहले कान्तिपुर र पाटन विजय गरिसकेका थिए। त्यहाँका राजाहरु भक्तपुरमा गएर शरण लिन पुगेका थिए। शाहले भक्तपुरमाथि पनि आक्रमण गरेपछि त्यहाँका अन्तिम मल्ल राजा रणजीत मल्लको सेनाले सेतो कपडा देखाएर आत्मसमर्पण गरेको इतिहास छ।

‘त्यही सेतो कपडालाई तस्विरमा देखाएर कथासँग जोड्न खोजेको छु। कसरी बसाइसराइ भयो भनेर,’ आयुषले तस्विरहरु देखाउँदै भने।

काठमाडौं उपत्यकाबाट पोखरामा अर्को बसाइसराइ रणबहादुर शाहको समयमा भएको उनले फेला पारे। उपत्यकामा बिफर फैलिएपछि यहाँका नेवारहरुलाई निस्कासन गरिएको थियो। त्यसबेला पनि धेरै नेवार परिवार पोखरा पुगेका थिए। पछि पनि बसाइसराइको क्रम जारी रह्यो। बिस्तारै त्यहाँ पुगेका नेवारहरुले बस्ती बसाए। मन्दिर बनाए, जात्रापर्व सुरु गरे। यी सबै कुरालाई आयुषले तस्विरबाट देखाएका छन्। पोखराका नेवारहरुको थर र धेरैजसो पर्व भक्तपरसँग मिल्ने गर्छ। पोखरामा बाह्र भैरव नाच प्रदर्शन गर्ने प्रचलन छ। जुन पहिला भक्तपुर दरबार क्षेत्रमा देखाइन्थ्यो। अहिले पनि पोखरामा चल्ने यो नाचलाई आयुषले आफ्नो ‘प्रोजेक्ट’मा समेटेका छन्।

‘मैले प्रोजेक्टको लागि नयाँ मुकुन्डोदेखि लुगा, गहना बनाउन लगाएँ। मलाई त्यो बेलाको पोखरा तस्विरमा देखाउनु थियो,’ आयुषले भने।

स्थानीय र इतिहासबारे जानकारसँग कुराकानीसँगै फोटो र भिडियो डकुमेन्टेसनको काम अघि बढ्दै थियो। त्यसैक्रममा व्यापार गर्न पुगेको भन्नेमा धेरैजसो कपडाका व्यापारी रहेको पाए उनले।

‘त्यसैले तस्विरहरुमा पनि कपडाको व्यापारलाई मैले प्राथमिकतामा राखेँ। पोखरामा भोलेन्टियर गर्ने परिवारको पुरानो कपडाको पसल रहेछ। त्यसैले सजिलो भयो,’ उनले सुनाए। 

पोखरामा भक्तपुरमा जस्तै ताहामचा प्रदर्शन गरिन्छ गाइजात्राको बेलामा। यस्तै, राम लिला र कृष्ण लिला नाच देखाउने गरिन्छ। आफ्नो ‘प्रोजेक्ट’मा उनले यसलाई पनि समेटेका छन्।

‘कल्चरल रुट्सहरु जोडिएको छ। हिस्ट्री नेभर इन्डिङ प्रोसेस हो। यसलाई अर्को १०-२० वर्षपछि कन्टिन्यू गर्छु भन्यो भने पनि सकिन्छ। अझै अनुसन्धान गर्न सकिन्छ। अहिले मैले पाएसम्मको कुरालाई तस्विरबाट रिक्रिएट गरेको हुँ,’ आयुषले भने। 

‌पढाइले देखाएको नयाँ बाटो

अहिले २५ वर्ष पुगे आयुष। करिब १५ वर्षअघि पोखराबाट काठमाडौं सरेका हो उनको परिवार। हरेक वर्ष जस्तो पोखरा पुगिरहेका हुन्छन् उनी। पहिला पुग्दा उनलाई पोखराको नेवार बस्ती सामान्य लाग्थ्यो। जब ललितकला विषय अध्ययनगर्दै गए बुझे त्यहाँ घरहरुको आर्टिटेक्चर पछिको कथा, इतिहास र अनुसन्धानको महत्व।

फोटोग्राफी त प्यासन थियो नै। आर्टिस्ट र ग्राफिक डिजाइनिङको विद्यार्थी हिसावले सबै कुरा ‘रिक्रिएट’ गर्न मन थियो उनलाई। सेट डिजाइन र प्रोडक्सन डिजाइनमा पनि रुची थियो उनको। त्यसैले यही प्रोजेक्टमा सबै कुरा ‘एक्सप्लोर’ गर्ने प्रयास गरेको उनी बताउँछन्।

‘फोटोग्राफी/ सेट डेभलप्मेन्ट सबैलाई एकैपटक एक्सप्लोर गर्न मन थियो। पुरानै फोटोलाई प्रयोग गरेर गर्न सक्थेँ। तर मलाई नयाँ गर्नु थियो,’ उनले भने, ‘ग्राफिक्सको विद्यार्थी भए पछि प्रब्लम सल्भिङ एउटा महत्वपूर्ण कुरा हो। तस्विरहरुलाई कसरी राख्ने मान्छेलाई कसरी बुझाउने भन्ने थियो। अनि तस्विरहरुमा बसाइ सराइको क्रमिक रुप देखाए।’

फेसन फोटोग्राफीमा पनि पढाइका क्रममा पाएको ज्ञानलाई उतार्न थाले उनले। फोटोग्राफीको यो बेग्लै विधामा पनि ‘स्टोरी क्रिएट’ गर्न थाले।पछिल्लो पटक अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा जाँदा उनको फोटो सुट आयुषले नै गरेका थिए। रथको पाङ्गा र भैरवसँग खिचेको तस्विर निकै चर्चित पनि भएको थियो।

अबको यात्रा

फोटो स्टोरीको अहिलेको प्रोजेक्ट सकिएपछि के गर्ने त?

उत्तरमा आयुषले भने, ‘यही प्रोजेक्टमा थप अध्ययन गर्न सकिन्छ।’ साथै उनले पौभा, थाङ्काका साथैविभिन्न समुदायको खानाको प्रोजेक्टमा संलग्न हुन मन भएको सुनाए।

‘नयाँ पुस्तालाई इतिहास जान्ने इच्छा छ। तर, सबैलाई आफ्नो रुट्स थाहा हुँदैन। तस्विरको माध्यमबाट पनि इतिहास भन्न सकिन्छ। मुख्य कुरा सजिलोसँग बुझ्ने गरि कसरी देखाउने भन्ने हो,’ आयुषले भावी योजना सुनाउँदै भने,‘त्यसैले नयाँ पुस्तारुलाई भिज्युल्ली एपिलङ गर्दै कथा कसरी पुर्‍याउन सकिन्छ भनेर सोच्दैछु।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img