काठमाडौं : अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि आधिकारिक रुपमा अमेरिकालाई अहिलेसम्म जानकारी दिइएको छैन। विपक्षी दलसँगै गठबन्धनमै रहेका दलहरुले यस विषयमा प्रश्न उठाइरहेका छन्।
केही नेताहरुले एसपीपीसँग सम्बन्धित पत्र सार्वजनिक गर्नुपर्ने माग समेत गरिरहेका छन्। यसबिच परराष्ट्र मन्त्रालयले भने एसपीपीको पत्र सार्वजनिक गर्न नमिल्ने बताएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले पत्र सार्वजनिक गर्न नमिल्ने बताएकी हुन्।
यसअघि पत्र पठाउनेबारे परराष्ट्र मन्त्रालयल अझै छलफलमा रहेकोले पत्र नपठाउन ढिला भएको मन्त्रालयकी लम्सालले जानकारी दिएकी थिइन्।
एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो। सरकारले सहभागी नहुने भनेर निर्णय गरे पनि अमेरिकालाई जानकारी नगराएको भन्दै अहिले प्रश्न उठिरहेको छ।