spot_img

सर्प देख्‍ने बित्तिकै किन सातो जान्छ? पढ्नुस् सर्पसम्बन्धी १६ रमाइला तथ्य

  • राजु आचार्य –

हिउँदभर दुलोमा बसेका सर्पहरु अब बिस्तारै निस्कन थालेका छन्l सर्प देखेर नआत्तिने मानिसहरु सायदै होलान्। मोबाइलमा सर्प देख्ने बित्तिकै मोबाइल फाल्ने मानिसहरु पनि छन्। मेरा एक जना मित्र कमल थापा त झन हिडिरहँदा सर्प भन्ने शब्द सुन्ना साथ भागिहाल्छन्। सर्प देखेर डराउने प्रकृयालाई  ओफियोफोबिया वा हर्पटेफोबिया भनिन्छ। हरेक ३ जना मानिसमध्ये एक जना सर्पसँग डराउने अनुमान छ। कोही भने सर्पसँग नजिक भएर यिनको अनुसन्धान र संरक्षणमा लागेका पनि छन्। 

सर्प बारेका विश्वासहरु 

विभिन्न समाज र संस्कृतिमा सर्पबारे अनौठो चलन पनि रहिआएको छ। भारतमा सन् २००६ मा एकजना ३० वर्षाय महिलाले सर्पसँग विवाह गरेकी थिइन्। अफ्रिकामा मरेका आफन्तले सर्पको जुनी लिएर फेरि जन्मिन्छन् भन्ने विश्वास गरिन्छ। चीनमा सर्पको रक्सीलाई सबै रोगको अचुक औषधिको रुपमा लिइन्छ। नेपालमा भने सर्पलाइ मारेपनि यसले फोटो खिचेर राख्ने र पछि मार्न वा टोक्न आउने भएकोले मारिसकेपछि पनि टाउको टुक्राटुक्रा पारिन्छ। यसले गर्दा फोटो खिचेर राख्ने ठाँउ नस्ट गरिएको विश्वास गरिन्छ। सपनामा सर्प मरेको देखेमा मृत्युको भय हुने विश्वास समेत गरिन्छ। हिन्दुहरु नाग पञ्चमीमा यिनको पूजा नै गर्छन्l

के सबै सर्प विषालु हुन्छन्?

संसारभर पाइने करिब ३ हजार प्रजातिका सर्पहरु मध्ये नेपालमा करिब ८० प्रजातिहरुका सर्प अभिलेख गरिएको छ जसमध्ये करिब १५ प्रतिशत भन्दापनि कम प्रजातिहरुका सर्पमात्रै विषालु छन् र सो मध्येपनि आधाजतिले  टोकेमामात्र मानिसलाई ठूलो  नोक्सानी हुने सम्भावना हुन्छ। टोक्दापनि २५ देखि ५० प्रतिशत अवस्थामा विष निकाल्न सक्दैनन् जसलाई सुख्खा टोकाइ पनि भनिन्छ। सर्पले आफूलाई अफ्ठयारो अवस्था नपरेसम्म टोक्दैनन्। तिनले मानिसलाई लखेटेर त झनै टोक्दै टोक्दैनन्। 

सर्पलाई सकस 

सर्पलाई देख्न हुँदैन, मानिसहरु मारिहाल्छन् l सर्पलाई चौतर्फी चुनौतीहरुमात्रै छन्। वन तथा बासस्थान विनास, आगलागी, आहारा प्रजातिमा विषादी, जनचेतनामा कमि, सर्प चटकीको प्रदर्शन, पुनर्स्थापना केन्द्र नहुनु आदि कारणले यिनको संख्या दिनप्रतिदिन घट्दो छ। मानिस र सर्प बीचको द्वन्द्व लामो समयदेखि चल्दै आएको छ। धादिङ्ग जिल्लाको सल्यानटारमा प्रत्येक घरले वर्षमा दुइवटा सर्प मार्ने गरेको त्यहाँ गरिएको एक अनौपचारिक अध्ययनले देखाएको छ। मानिसहरुले सबै सर्पलाई विष भएको ठान्नु नै यसको मृत्युको प्रमुख कारण हुँदै आएको छ। 

सर्प नमारौँ

सर्पलाई जिस्काउने, तर्साउने, समाउने तथा लखेट्ने कार्य नगरौँ। यिनले प्रकृतिमा धेरै ठूलो भूमिका खेलेका हुन्छन्।  यिनले  अन्नबालीको नोक्सानी गर्ने मुसालाई खाएर किसानलाई ठूलो सहयोग पुर्‍याउँछन्  भने अर्कोतिर धेरै वन्यजन्तुको आहार समेत बन्दछन्। 

सर्प सम्बन्धि १६ रमाइला तथ्यहरु

•    यिनीहरु मांसाहारी हुन्। यिनीहरुले आफ्नो खाना सग्लै निल्छन्। 
•    यिनको आँखाको परेलाहरु हुँदैनन् तेसैले सुत्दा आँखा खोलेरै सुत्छन्। 
•    यिनीहरुले काँचुली फेरिरहन्छन् जुन उमेरसंगै  फेर्ने क्रम कम हुँदै जान्छन् । 
•    यिनीहरुले जिब्रोको माध्यमले सुँघ्ने गर्दछन्। सर्पहरुले सुन्न सक्दैनन् तर  यिनले हावा वा जमीनमा हुने चालको अनुभव गरेर प्रतिकृया जनाउने गर्दछन्। 
•    यिनीहरुले आफ्नो शत्रुहरुलाई अठ्याएर सास फेर्न अप्ठ्यारोमा पारेर मार्ने गर्दछन्।
•    यिनीहरु १० सेमी लामादेखि ६ मिटर लामासम्म हुन्छन्। संसारको सबैभन्दा ठूलो सर्प एनाकोन्डा हो जुन २७० किलोसम्मको तौल र ९ मिटरसम्मको लम्बाईको भेटिएको छ। 
•    विश्वभर वर्षमा १ लाख मानिसहरु सर्पको टोकाइबाट मारिन्छन् तर यो संख्या माहुरी तथा बारुलाले टोकेर मारिने भन्दा कम हो। सबैभन्दा खतरनाक तथा विषालु सर्पहरु अस्ट्रेलियामा पाइन्छन्। 
•    ब्राजिलको आइसल्याण्डमा मानिसहरु जाँदैनन्। किनकी त्यहाँ प्रति वर्ग मीटरमा ५ वटासम्म सर्पहरु पाइन्छन्। 
•    वैज्ञानिकहरु चारखुट्टे घस्रने सरिसृपबाट सर्पको विकास भएको मान्छन्। यिनको अस्तित्व पृथ्वीमा एक करोड वर्ष अघि रहेको वैज्ञानिक आंकलन छ। 
•    सर्पले औसत ३ देखि ५ दिनमा खाएको खाना पचाइसक्छन्। तर ठूला प्रजातिहरुलाई झन् बढी समय लाग्छ। 
•    सर्पका २०० वटासम्म दाँतहरु हुन्छन्। जुन टोक्नको लागि नभई आहारालाई भित्रतर्फ तान्न र आहारालाई फुत्कन नदिनको लागि मात्र प्रयोग हुन्छ। 
•    ७० प्रतिशत सर्पहरुले फुल पार्छन् तर बाँकीले भने बच्चा समेत जन्माउने गर्दछन्। 
•    सर्पका प्रजाति अनुसार ६ देखि १०० वटासम्म फुल पारेको अभिलेख गरिएको छ।  
•    सहवासको बेला कतिपय पोथी सर्पले शरिरबाट फेरोमोन नामक हर्मोन निकाल्ने गर्दछन् यसको आधारमा भाले सर्पहरुले सहवासको लागि तयार भए नभएको तथा पोथीको आकारबारे समेत जानकारी पाउँदछन्। 
•    नेपालमा सर्पहरु ४८०० मीटरको उचाइसम्म अभिलेख गरिएको छ। 
•    अमेरिकामा सन १९७५ मा सर्प विज्ञ कार्ल स्मीडले विषालु सर्पले टोकेपछि मृत्यु हुन्छ भन्ने थाहा हुँदा हुँदैपनि अस्पताल नगई सर्पको असरबारे लेख लेखेका थिए। पछि उनी मरे।

नाग पञ्चमीको अवसरमा पुन: प्रकाशित गरिएको हो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img