spot_img

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग माग्यो एसपीपीबारे अमेरिकालाई पत्र नपठाउनुको कारण

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ। बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो।

समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकोले सो कागजात प्राप्त गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।

उनले भनिन्, ‘एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन? नजानुको कारण के हुन्? र हामीले मागेका डकुमेण्टहरु हामीले प्राप्न गर्न नसक्नुका कारणहरु के-के हुन्? र, यो हामीले प्राप्त गर्नसक्छौँ या सक्दैनौँ प्रष्ट किसिमको जानकारी होस् भनेर हामी पत्राचार गर्ने कुरा यहाँहरु समक्ष राख्न चाहन्छु।’

त्यस्तै, प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरु आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उनले जानकारी दिइन्।

‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायौँ। केको लागि जानुभएको हो? हामीलाई जानकारी छैन। त्यसले गर्दा आधिकारिक रुपमा आधिकारिक ठाउँबाट यो जानकारी हामीलाई चाहिन्छ। यसले गर्दा आजको बैठकले हामीले के निर्णय गर्नुपर्ने हुन्छ भन्ने लाग्छ, आधिकारिक ठाउँबाट केका लागि जानुभएको हो, हल्ला विभिन्न किसिमको आइराखेको छ। आइपीएसको सन्दर्भमै छलफलमा जानुभएको हो भन्ने खालको कुरा छ। एसपीपीलाई पास गर्नका लागि हो भन्ने खालको कुरा पनि आएको छ। तर, हामी हल्लाको पछि लागेका छैनौँ। हामी आधिकारिक तथ्य, प्रमाण लिन चाहन्छौँ,’ उनले भनिन्।

समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img