spot_img

वर्तमान पुस्ताले बुझ्नै पर्छ के हो ‘खुवालुङ’, किरात समुदायको सभ्यताको ‘चिनो ढुङ्गा’ को कथा

काठमाडौं : दूधकोसी, अरुण र तमोर नदीबिचको संगमस्थल त्रिवेणीमा एक ठूलो ढुङ्गा छ। तीन ठूला नदीहरुको त्रिवेणीबिचको ठूलो ढुङगा नै खुवालुङ हो। सो क्षेत्र धनकुटा, भोजपुर र उदयपुर जिल्लाबिचको सिमाना पनि हो। खुवालुङ अर्थात पानी ढुङ्गा। त्यो एक सामान्य ढुङ्गा मात्रै होइन, किराती समुदायको सभ्यता र संस्कृतिको प्रतीक हो।

खुवालुङ किराती समुदायको इतिहाससँग जोडिएको छ। परापुर्वकालमा किरातीहरूले जंगल फँडानी गरेर बस्ती बसाले। बाँझो जग्गामा मिलेर अन्न फलाउन थाले। राम्रैसँग जीवन चलिरहेको थियो। तर बैरी दुश्मनले उनीहरूको बस्तीमाथि आँखा लगाउँछन्। उनीहरूको बसेको बस्तीलाई खोस्न चाहन्छन् शत्रुहरू। तर किरातीहरू एकजुट भएर शत्रुको सामना गर्छन्। र, आफ्नै बल बुद्धिले शत्रुलाई हराएर उनीहरूले आफ्नो भोकचलन गरिरहेको बस्ती बचाउँछन्।

समयक्रममा किरातीहरू बसेको बस्तीमा ठूलो महामारी आउँछ। रोगव्याधि र हैजाकै कारण धेरैले ज्यान गुमाउँछन्। त्यसपछि उनीहरू कुल देउताको पुजा गरेर भन्छन्, ‘हे हेन्खमा माङ। हामी त तिम्रै सन्तान हौँ। तिम्रै आसिक बलले गरिखाने हुँ। जहाँ गए पनि जता गए पनि तिम्रै आसिक मायाले नमासिने नहराईजाने हुँ है। बल देउ, आसिक देउ। आपतिको बेलामा भागेर गए नभन्नु। चोखो मनले बाटो देखाउ हे… हेन्खमा माङ।’

अनि एकै स्वरमा सुनिन्छ : माटोले मात्रै पुगेन हाम्मलाई बाटो देउ खुवालुङ। हे बाटो देउ खुवालुङ।

शत्रुसँग कहिले नडराउने किरातीहरू महामारीसँग जुध्न नसकेर हार मान्छन्। आफूले भोगचलन गरिआएको ठाउँ छोडेर उनीहरू अन्तै बसाइँ सर्छन्। त्यसक्रममा किराती पाँच दाजुभाइ खोला हुँदै माथि उक्लन खोज्छन्। उनीहरू तमोर, अरुण र दूधकोसीको त्रिवेणी पछ्याएर जान खोज्छन्। चारभाइ भने सरि गए। तर कान्छो भाइले भने खुवालुङ तर्न सक्दैनन्। त्यसपछि उनीहरू खुवालुङलाई साक्षी मानेर आफ्नो सभ्यताको नयाँ सुरुवात गर्छन् ।

कान्छो भाइले खुवालुङ तर्न नसकेपछि उँधो नै बस्छन्। जसका सन्तानहरू थारु, धिमाल हुन्। अनि एकभाइ तमोरको तीरैतीर गए। एकभाइ अरूणको तीरैतीर गए। दुईभाइ भने दुधकोशी र सुनकोशीको तीरैतीर गए।

अरुणको तीर भएर जानेहरू राई हुन्, तमोरको तीर भएर जानेहरू याक्खा, लिम्बूहरू हुन्। दुधकोशी र सुनकोशीबाट जानेहरू सुनुवार, जिरेल, थामीहरू हुन् भन्ने मिथकहरू छ।

खुवालुङलाई नयाँ बाटो मानेर अर्थात साक्षी राखेर किरातका दाइभाइ छुट्टिएको र नयाँ मानव सभ्यता विकास भएको कथा भन्दैछन् लेखक राजन मुकारुङ, नाटक ‘खुवालुङ-ढुङगाको बाटो’ मार्फत। थापागाउँस्थित मण्डला थिएटरमा हाल सो नाटक मञ्चन भइरहेको छ। किरण चाम्लिङ राईको निर्देशन रहेको नाटकलाई राजन मुकारुङले लेखेका हुन्।

+++++

तीन नदीबिचको त्रिवेणीमा अवस्थित उक्त ढुङ्गालाई किरातीहरू मार्गदर्शनको रूपमा लिन्छन्। तर केहीवर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सप्तकोसी नदीमा ‘जेटबोट’ चलाउन बाधा गर्ने ‘एउटा ढुंगो’लाई क्रेन लगाएर फुटाउने योजना ल्याएको थियो। किरात समुदायको आस्थासँग जोडिएको ‘खुवालुङ’ फुटाउने भनिएपछि त्यसको विरोध भएको थियो। सरकारको निर्णयविरुद्ध ‘खुवालुङ बचाऔँ’ साँस्कृतिक आन्दोलन समेत भएको थियो। अन्तत: सरकार आफ्नो निर्णयबाट पछि हट्यो। सोही साँस्कृतिक आन्दोलनको निरन्तरतारुवरूप ‘खुवालुङ’ संरक्षण गर्ने उद्धेश्यले नाटक तयार पारेको बताउँछन् मुकारुङ।

राज्यको तर्फबाट विकासको नाममा हुने गरेको हस्तक्षेप रोक्नु नै नाटकको मुख्य उद्धेश्य रहेको बताउँछन् उनी।

‘नेपालमा साँस्कृतिक सम्पदाका रुपमा धेरै खुवालुङहरू छन्। जो सम्पदासँग कुनै कुनै जाति समुदायको सम्बन्ध रहेको हुन्छ। तर पछिल्लो समय विकास र आधुनिक मनोविज्ञानका नाममा साँस्कृतिक सम्पदामाथि आक्रमण बढ्दो छ। ‍नयाँ पुस्ताहरू साँस्कृतिक सम्पदाबाट टाढा छन्। नाटकबाट उनीहरूलाई कहीँ न कहीँ आफू हुर्किएको ठाउँ सम्पदासँग जोडिएको छ की भनेर प्रश्न उत्पन्न होस्। मानव सभ्यताको उत्खनन भनेको मानव जीवनको रक्षा पनि हो। मानव समुदायको रक्षायार्थ उभिने अभियान पनि हो नाटक खुवालुङ।’

यो साँस्कृतिक आन्दोलन मात्रै नभई प्रकृतिको सौन्दर्यतालाई बचाउने आन्दोलन समेत रहेको उनको तर्क छ। ‘पछिल्लो समय पहिचानका आन्दोलनहरू भइरहेका छन्। जुन कुनै भाषा र सँस्कृतिको मात्रै आन्दोलन होइन्। प्रकृतिको सौन्दर्यतालाई बचाउनुपर्छ भन्ने पनि आन्दोलन हो। प्रकृतिको सौन्दर्यतालाई बचाउनुपर्छ भन्ने जोडका साथ यो नाटक बनाउने प्रयन्त गरिएको हो,’ मुकारुङले नाटक मञ्चनको थप उद्देश्यबारे प्रष्ट पारे, ‘खुवालुङबाट किराती समुदायको सुरुवात भएको हो। त्यसले, किरातीहरूले खुवालुङलाई चिनो ढुङ्गाको रूपमा मान्छन्। खुवालुङलाई आफूलाई बाटो र मार्ग दिने ढुङ्गाको रूपमा पनि स्विकार भएको हुनाले यसलाई लेख्नुपर्छ र भन्नुपर्छ लागेको हो।’

खुवालुङबारे अनेक कथाहरू र मिथकहरू भेटिन्छन्। तर विभिन्न भाषी र समुदायसम्म ती मिथकहरूमा एकरूपता भेटिदैन्। तर ती सबै मिथकहरूको वास्तविक सार खोजेर नाटक लेखिएको बताउँछन् मुकारुङ।

उनी भन्छन्, ‘खुवालुङ सम्बन्धि धेरै कथा, कहानी र मिथकहरू छन्। तर नाटक लेख्दा सबै मिथहरूको वास्तविक कुरा केहो भन्ने हामीले खोजी गयौँ। तर नाटक भन्ने तरिका फरक भए पनि सबैको सार एउटै छ। खुवालुङसम्म एउटा मानव समुदायहरू आइपुगे, ती मानिसहरूले त्यसलाई पार गरेर एउटा सभ्यताको सुरूवात गरे। जुन समानता हो। यसलाई केन्द्रमा राखेर किराती सबै समुदायको कथालाई समेट्ने प्रयास गरेका छौँ।’

थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नाटकमा पशुपति राई, इंगीहोपो कोइँच सुनुवार, मानङ लावती, संयोग गुरागाईं, अनु थापा, सबिना थापा क्षेत्री, प्रशंसा गुरुङसहित ३० जना कलाकारहरूको अभिनय छ। किरण चाम्लिङ राई निर्देशित यो नाटक साउन २९ गतेसम्म मञ्चन हुनेछ।

निर्देशक राईले पनि यो नाटक एक साँस्कृतिक आन्दोलन भएको बताए। ‘यो नाटक किरात समुदायको खुवालुङसँग सम्बन्धित छ। जुन ढुङ्गा किरातीको समुदायको साँस्कृतिक, सामाजिक, वातावरणीय इतिहाससँग जोडिन्छ। यस नाटकबाट किरातीहरू हिँडेको बाटो कुन हो? भन्ने थाहा हुन्छ। खुवालुङ साँस्कृतिक आन्दोलनको एक पाटो हो,’ उनले भने।

यस नाटकमार्फत किरात समुदाय र संस्कृतिलाई नजिकबाट बुझ्ने मौका पाएको बताउँछन् राई। उनले भने, ‘राजन दाईले खुवालुङसम्बन्धि विभिन्न मिथ जोडेर नाटक लेख्नु भएको छ। किरात संस्कृतिलाई अझ नजिकबाट बुझ्न यो नाटक निर्देशन गरेको हुँ। जसबाट मैले किराती सभ्यता र संस्कृतिको बारेमा नयाँ कुरा बुझ्ने मौका पाएँ। खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरूको मुल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यता नै खुवालुङको कथा हो। खुवालुङबारे वर्तमान समयमा बुझ्न निकै जरूरी छ।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img