काठमाडौं : नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले यस्तो बताएका हुन्।
उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकिपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए। सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकिपक्सको बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको आरोप लगाए।
जनस्वास्थ्यको कुरामा सरकार निन्द्रको अवस्थामा रहनु दुःखद् भएको उनको भनाइ थियो। सांसद भट्टराईले मंकिपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाकाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए।
उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपक्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए।
उनले भने, ‘भारतमा यसका ४ वटा केसहरु देखिसकेका छन्। हामी पनि यसबाट धेरै टाढा छैनौँ। यसको भयानक अवस्थाबाट हामी टाढा छैनौँ। यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व सतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु। सीमानाकामा कडाइ गर्नुपर्छ, सचेतनता फैलाउनुपर्छ। परीक्षण केन्द्र राख्नुपर्छ।’
सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताए। उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।