जनकपुरधाम : जनकपुरधाममा सोमवार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको साथबाट २ लाख रुपैयाँ लुटिएको छ।
जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका हुन्।
साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा बैंकदेखि करिब ५०० मिटर उत्तरतर्फ रहेको मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन्।
उनका अनुसार झोलामा २ लाख रुपैयाँ, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो।
‘म हिँडिरहेको समयमा एक्कासी आएका उनीहरुले हातबाट झोला लिएर गए’, शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए।’
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीप बहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए।