काठमाडौं : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्वीटरबाट दिएको शुभकामना सन्देशलाई रिट्वीट गर्दै मुर्मूले धन्यवाद व्यक्त गरेकी हुन्।
‘नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्ने कुरामा पनि म विश्वस्त छु,’ उनले भनेकी छिन्।
द्रौपदी मुर्मू बिहीवार भारतकी नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। सत्तारुढ भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी मुर्मूले विपक्षीका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन्।
Thank you Prime Minister Of Nepal Shri @SherBDeuba for the warm gestures. Yes I am also confident that that excellent friendship & great relations between Nepal & India will reach to new heights soon. @IndiaInNepal https://t.co/zbYjakblFq
— Draupadi Murmu • ଦ୍ରୌପଦୀ ମୁର୍ମୁ (@draupadimurmupr) July 22, 2022
मुर्मू आदिवासी समुदायबाट भारतको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन्। उनको जन्म उडिसाको मयूरभञ्ज जिल्लाको बैदापेसी गाउँमा भएको हो। सन्थाल समुदायकी मुर्मूले सन् १९९७ देखि राजनीतिक यात्रा सुरु गरेकी थिइन्।
उनी भारतकी दोस्रो महिला राष्ट्रपति हुन्। प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। राष्ट्रपतिको उम्मेदवार बन्नु अघि मुर्मू झारखण्ड राज्यकी राज्यपाल थिइन्।
जुलाई २४ मा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिनेछ। त्यसपछि मुर्मूले राष्ट्रपतिको कार्यभार सम्हालेनछिन्।
भारतकी राष्ट्रपति निर्वाचित मुर्मूलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाई र शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास रहेको भण्डारीले बताएकी छिन्।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएकाछन्। देउवाले नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।