काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तीन दिने भारत भ्रमण सफल भएको बताएका छन्।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँगको संवादका क्रममा उनले भने, ‘जस्तो अपेक्षा गरिएको हो। अपेक्षा गरिए अनुसार सफल भएको छ। कतिपय कुरामा त सोचे भन्दा राम्रो पनि भएको छ।’
उनले भारतमा रहँदा विभिन्न सरकारी अधिकरी तथा पार्टीका नेतृत्वसँग भएको भेटमा नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर छलफल भएको बताए।
‘यहाँ कसरी चर्चा गरियो थाहा छैन। तर, त्यहाँ नेपालीहरुले चासोका रुपमा हेरिएको छ। प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले सम्मान र सुरक्षामा फरक देखिन। वार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विषयमा सकरात्मक र राम्रो छलफल भयो,’ उनले भने।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग नयाँ दिल्लीस्थित दूतावासमा भएको भेटबारे पनि स्पष्टीकरण दिए। भने, ‘दूतावासमा भेट भएको। त्यहाँ आरजु मेडम पनि उपचारका लागि आउनुभएको रहेछ। राजदूत ज्यूले त्यहाँ उहाँलाई पनि बोलाउनु भएछ। त्यही भेट भएको हो। स्वास्थ्यलाभको कामना भएको हो।’
यस्तै, उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको संवाद पनि राम्रो भएको सुनाए। ‘विदेशमन्त्री जयशंकरसँग संविधान घोषणा गर्नेबेलामा अत्यन्त मिठो संवद नभएको बेलामा र अहिले कस्तो होला भन्ने थियो। तर, अहिले सौहार्दपूर्ण ढंगले छलफल भयो,’ उनले भने।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको छलफललाई अलि बढी ‘हाइलाइट’ गरिएको प्रचण्डले बताए। डोभालसँगको भेटमा पनि नेपालको हित, दुई देशबिचको सम्बन्ध, सम्भावनाहरुको विषयमा छलफल भएको प्रचण्डले बताए। उनले छलफलमा नेपाल आउने तेलमा सहुलियत दिन अनुरोध गरेकोसमेत बताए।
‘तेल रुसबाट सस्तोमा आउँछ। त्यसबाट नेपाललाई राहत दिने ढंगले सोच्नु भयो भने राम्रो हुन्छ भनेँ,’ उनले भने।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसकेकोमा पनि स्पष्टिकर दिए।
‘प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने नै थियो। १ बजे भेट हुने भन्ने थियो। तर के कारणले भएन मलाई पनि थाहा भएन। उहाँ हिजो बाढी पीडितहरुको अनुगमनका लागि जानु भएको थियो। व्यस्त भएर हो की के हो थाहा भएन। भेट नभए पनि मैले भन्ने सबै कुरा राखेर आएको छु। भेट भएको भए पनि फोटो खिच्ने र राख्ने मात्रै बाँकी थियो’