काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ। शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो।
समितिका सचिव सुरेन्द्र अर्यालले शनिवार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने बताए। उनले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताए।
भने, ‘आज प्राविधिक विषय सिसिटिभीको विषयमा केन्द्रित भएर हामी छलफल गर्ने कार्यक्रम छ। बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ। हामी अहिले अर्थ मन्त्रालयदेखिको मुल ढोकादेखि त्यहाँ जडान गरिएका सिसिटिभीका फुटेजमा नै केन्द्रित छौँ।’
अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुयाउने गरी अघि समिति अघि बढेको उनले बताए।
शर्मामाथि २०७९-८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। शर्मामाथि सो आरोप लागेपछि मन्त्रालयको सिसिटिभी फुटेजबारे चासो व्यक्त गरिएको थियो। यस प्रकरणमा मन्त्रालायबाट सिसिटिभी फुटेन नै हराएको जवाफ दिएका थिए शर्माले। आलोचनापछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।






















