काठमाडौं : नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)लाई धेरै प्रहार गर्न उचित नहुने धारणा व्यक्त गरेका छन्। एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै नेपालले एमालेले पनि अहिले समाजवादीलाई धेरै प्रहार नगरेको बताए।
‘एमालेले धेरै प्रहार नगरिरहेका बेला हामीले पनि धेरै प्रहार गरिरहनु उचित हुँदैन, हामी मसिनो गरी हेरिरहेका छौँ,’ नेपालको भनाइ थियो।
एमालेलाई विभाजन गरी एकीकृत समाजवादी गठन गरेको झण्डै एक वर्ष पुग्न लागेका बेला नेपालले एमालेप्रति नरम नीति अपनाउनुपर्ने बताएका हुन। एकीकृत समाजवादी र एमालेका बिचमा चुनावी तालमेल या पार्टी एकता हुन सक्नेबारेमा भने नेपालले केही खुलाएनन्। उनले ओलीलाई बदल्न सकिएमा भने एमालेसँगै एकता हुनसक्ने संकेत गरे।
‘केपी ओलीको पनि आफ्नै पारा छ, त्यो पनि बदलिन सकिदैन। उहिलेदेखि भनेको छु कसैले बदलिन सक्छ भने जिम्मा दिन्छु आउनुस्। तपाईँले सक्नुहुन्न भन्ने लागेको छ भने संसारमा कोही छ भने पूरै मनोवैज्ञानिक उपचार गर्न सकोस्। नयाँ ढंगले हिँडाउन सकोस् त्यसको पनि जिम्मा दिन्छु। मोटिभेट गर्न सकोस्,’ नेपालले भने।
‘जडसुत्रवादी’ दलहरुसँग भने आफ्नो पार्टी मिल्न नसक्ने नेपालले बताए। कम्युनिस्ट एकताका लागि एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुबिच अनौपचारिक रुपमा गृहकार्य भइरहेको भन्ने चर्चा भइरहेका बेलामा नेपालको यस्तो धारणा आएको हो।
शुक्रवार नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा छन् भने केही दिनअघि मात्रै चिनियाँ टोलीले नेता नेपाल लगायतका शीर्ष नेताहरुसँग भेट गरेर फर्किएको छ। चीनले नेपालका कम्युनिस्ट पार्टीहरुका बिचमा एकता कायम गराउन खोजेको कम्युनिस्ट पार्टीकै नेताहरुले बताउने गरेका छन्।
‘भूलभूलैयामा नपरौँ’
नेपालले एमालेसँग नरम हुनुपर्ने बताए पनि आफू कुनै भूलभूलैयामा पनि नपर्ने बताएका छन्। ‘घर न घाट’को हुने स्थितिमा एकीकृत समाजवादीको अवस्था नरहेको नेपालको भनाइ छ।
राजनीतिमा भित्रि र बाहिरी दृश्यको राम्ररी विश्लेषण गर्न नसकिए हण्डर खानुको विकल्प नभएको नेपालको तर्क छ।
‘हामी यस्तो कुनै भूलभूलैयामा नपरौँ। जसले गर्दा घर न घाटको हुन परोस्। यस्तो मुर्खतापूर्ण व्यवहार गर्नु हुँदैन। राजनीतिमा जसले भित्र र बाहिरका दृश्य राम्ररी देख्न सक्दैन उसले हण्डर खाने वाहेक केही पनि हुँदैन,’ उनले भने।
देउवा र रामचन्द्र पौडेलसँग पडकिएपछि…
नेपालले महानगरपालिकामा एकीकृत समाजवादीको पक्षमा स्थानीय तह निर्वाचनको परिणाम आएको बताएका छन्। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको उम्मेदवार बाहेकलाई टिकट दिएको भए जित्नै नसक्ने अवस्था रहेको नेपालको दाबी थियो।
‘महानगरपालिकामा हाम्रो हैसियत देखियो। पोखरा महानगरमा एकीकृत समाजवादी बाहेकको उम्मेदवार भएको भए जित्न सक्ने थिएन,’ नेपालले दाबी गरे।
एकीकृत समाजवादीका उम्मेदवारलाई टिकट दिलाउन आफू प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको अघि बालुवाटारमा पड्किएको नेपालको भनाइ छ।
‘पोखरामा नेपाली कांग्रेसले के जित्छ जम्मा ५ हजार भोट भनेर भनेको कान पाकिरहेको थियो। त्यहाँको जिल्ला अध्यक्षसँग रिपोर्ट मागेँ। बालुवाटारमा देउवाको अघि रामचन्द्र पौडेलसँग पड्केँ,’ नेपालले सुनाए।
हेटौँडा उपमहानगरमा पनि आफ्नो पार्टीको बाहेकलाई गठबन्धनले उम्मेदवार बनाएको भए जित्न नसक्ने नेपालको दाबी रह्यो। जुन सुकै बेला चुनावको मिति घोषणा हुन सक्ने बताएका नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए।
‘राष्ट्रिय राजनीतिमा नयाँ दृश्य’
नेता नेपालले राष्ट्रिय राजनीतिमा नयाँ दृश्य देखिरहेको बताए। उनले एमालेले आउने निर्वाचनमा ठूलो धक्का खाने दाबी गरे।
सत्ता गठबन्धनका नेताहरुको बैठकमा चुनावको परिणामलाई लिएर विश्लेषण भएको नेपालले जानकारी दिए। भने, ‘राष्ट्रिय राजनीतिमा नयाँ दृश्य देखिरहेका छौँ। यो नयाँ दृश्य भित्र निकै धेरै सम्भावना बोकेको भनिएको पार्टी निकै ठूलो धक्का खानेवाला छ। हामी भर्खरै पनि ग्राफ हेरिरहेका छौँ, एमाले, कांग्रेस, माओवादी र अरुको ग्राफ।’
एकीकृत समाजवादी पार्टीले आफू जितेर ठूलो हुन नसके पनि अरुलाई सिध्याउनका लागि पर्याप्त भएको नेपालको तर्क छ।
‘कोही-कोही के हुन्छन् भने आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफि हुन्छन्,’ नेपालले भने।