श्रीलंकाका प्रमुख प्रतिपक्षी नेता साजित प्रेमदासाले आफू सरकार चलाउन तयार रहेको बताएका छन्। उनले राष्ट्रपति गोताबया राजापाक्षेले पदबाट राजिनामा दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनको दल समगी जन बलवेगया (एसजेबी)ले सहयोगी घटकसँग यस विषयमा समेत छलफल चलाएको छ।
प्रेमदासाले बीबीसीसँग कुरा गर्दै देश संकटमा परेका बेला आफू राष्ट्रपति भएर सरकार सञ्चालनका लागि तयार रहेको बताएका हुन्। उनको पार्टी र गठबन्धनले राष्ट्रपति पद रिक्त भए उनलाई अगाडि सार्न सहमत भएको उनले जानकारी दिए।
सन् २०१९ को राष्ट्रपति चुनावमा प्रेमदासा पराजित भएका थिए। उनलाई राष्ट्रपतिमा निर्वाचित हुनका लागि सत्तारुढ दलका सांसदहरुकोसमेत साथ आवश्यक पर्छ। त्यस्तै उनले आफू सर्वदलीय अन्तरिम सरकारमा समेत सहभागि हुन तयार रहेकोसमेत जनाएका छन्।
एसजेबीका नेता प्रेमदासालाई गत अप्रिलमा प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। तर, उनले त्यसलाई अस्वीकार गरेका थिए। उनले प्रधानमन्त्री बन्न अस्वीकार गरेसँगै राष्ट्रपति राजापाक्षेले रनिल विक्रमासिंगेलाई प्रधानमन्त्री बनाएका थिए।
तर, विक्रमासिंगेले पनि सर्वदलीय सरकार गठनका लागि आफूले मार्ग प्रसस्त गर्ने संकेत गरिसकेका छन्।
यता राष्ट्रपति राजापाक्षेले बुधवारको मिति राखेर राजिनामा पत्रमा हस्ताक्षर गरेको डेली मिररले जनाएको छ।
सभामुखले उनको उनको राजिनामालाई बुधवार मात्र सार्वजनिक गर्ने छन्। सभामुख महिन्दा यापा अभयवर्धनेले राजापाक्षेको राजिनामालाई स्वीकार गर्ने छन्। राजापाक्षेले श्रीलंका छाडिसकेको बताइएको छ। यद्यपी उनी निकटले भने राष्ट्रपति देशभित्र सैन्य घेरामा रहेको जनाएका छन्।
उनले सोमवार मात्रै तीनवटै सुरक्षा वलका प्रमुखलाई भेट गरेको बताइएको छ। उनी यसै साता देश छाड्ने तयारीमा रहेको दाबी समाचारमा गरिएको छ। यसैबीच सभामुखले जुलाई २० मा संसदले नयाँ राष्ट्रपति चुन्ने तालिका रहेको जनाएका छन्। त्यसका लागि जुलाई १९ का लागि मनोनयनको कार्यक्रम राखिएको छ।