काठमाडौँ: शान्ति र सुरक्षा व्यवस्थालाई लिएर जापानको प्रशंसा हुँदै आएको छ। जापानमा हिंसात्मक घटना दुर्लभ जस्तै मानिन्छन्। यस्तो देशमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी कार्यक्रममा भाग लिँदै गर्दा गोली हानी हत्या गरिएको छ।
जापानमा हिंसात्मक घटनालाई सम्झिँदा अझै पनि धेरै जापानीले झन्डै ३० वर्ष अगाडिको घटना सम्झिन्छन्। शान्ति सुरक्षालाई प्रतिष्ठाको विषय मान्ने देशमा नै पूर्वप्रधानमन्त्रीको हत्या हुनु अनपेक्षित भएको ब्लुम्बर्गले जनाएको छ।
हिंसा भनेर जापानीहरूले सन् १९९५ मार्च २० मा टोकियोको मेट्रोमा भएको सरिन आक्रमणलाई सम्झन्छन्। यस घटनामा १३ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका थिए। जसमध्ये केहीले पछि ज्यान गुमाए। घटनामा एक हजार बढीले आँखाको ज्योति गुमाएका थिए। त्यहाँको अतिवादी समूह अम शिनरिकियोले घटना गराएको थियो। त्यसको ९ महिना अगाडि पनि उनहरुले यस्तै आक्रमण गरेका थिए। यो समूहका नेता सोको आशहाराले तेस्रो विश्वयुद्धको तयारी गरिरहेका थिए।
घटनापछि जापान प्रहरीले उनीहरूको आश्रय स्थलमा छापा मारेर उनीहरूका नेतालाई नियन्त्रणमा लियो। आशहारासहितका २०० बढी नेता गिरफ्तार भए। उनीसहित १३ वरिष्ठ नेताहरूलाई मृत्युदण्ड दिइयो। अन्यलाई आजीवन कारावासको सजाय सुनाइयो। यो घटना नै आधुनिक जापानमा भएको सबैभन्दा हिंसात्मक घटनाको रूपमा लिइन्छ।
त्यसयता केही हिंसात्मक घटना नभएका भने होइनन्। २०१३ मा त्यहाँको प्रसिद्ध रेस्टुरेन्ट चेनका प्रमुख ताकायुकी ओहिगासीको हत्या भएको थियो। यो घटना अझै अनुसन्धान पूरा हुन सकेको छैन। यहाँ राजनीतिक हत्या केही मात्र भएका छन्। पछिल्लो समय २००७ मा नागासाकीका मेयर इच्छो इटोको हत्या भएको थियो। उनको हत्या त्यहाँको आपराधिक समूह याकुजाका सदस्य तेत्सुया शिरोले गरेका थिए।
यस्ता विरलै हुने घटनामा गत डिसेम्बरमा ओसाकामा भएको २६ जनाको हत्याको घटना पनि पर्छ। हत्यारा आफैँले आत्महत्यासमेत गरेका थिए।
जापानी सञ्चार माध्यम एनएचकेले यसअघि जापानका केही प्रसिद्ध व्यक्तिमाथि भएको आक्रमणलाई अगाडि बढाएको छ।
जसमध्ये सन् १९९२ मा त्यहाँको दक्षिणपन्थी समूहका हतियारधारी एक व्यक्तिले लिबरल डेमोक्रेटिक पार्टीका तत्कालीन उपाध्यक्ष कानेमारु शिनमाथि लक्षित गर्दै गोली चलाएका थिए। त्यतिबेला उनलाई गोली लागेको थिएन।
त्यस्तै सन् १९९४ मा पूर्वप्रधानमन्त्री होसोकावा मोरिहिरोमाथि सोही समूहका एक जनाले टोकियो होटेलमा गोली हानेका थिए। तर, उनी ठूलो चोट लागेन।
१९९० मै तत्कालीन नागासाकीका मेयर मोतोशिमा हितोशीमाथि दक्षिणपन्थी समूहका हतियारधारी गोली प्रहार गरेका थिए। त्यतिवेला उनी गम्भीर घाइते भएका थिए।
त्यस्तै सन् १९९५ मा त्यहाँको प्रहरीका कमिस्नर जनरल कुनिमात्सु ताकाजीमाथि गोली प्रहार भएको थियो। उनी पनि गम्भीर घाइते भएका थिए।
बन्दुकमाथिको कडा प्रतिबन्ध भएको जापानमा दुर्लभ हत्या
अमेरिकासहितका पश्चिमा देशमा ‘गन भायलेन्स’ सामान्य जस्तै हुन्छन्। वर्षेनि त्यहाँ यस्ता घटना हुन्छन्। तर, जापानमा भने यस्ता घटना दुर्लभ मानिन्छन्।
सन् २०१८ को तथ्याङ्क हेर्दा १२५ मिलियन जनसङ्ख्या भएको जापानमा जम्मा ९ जनाको हत्या भएको थियो। सोही वर्ष अमेरिकामा भने ३९७४० बन्दुकको गोलीबाट हत्या/आत्महत्या भएको थियो।
शुक्रबार आबेमाथि गोली चलाउने व्यक्ति अन्दाजी ४० वर्षका उमेरको रहेको र उनले हाते बन्दुकमार्फत गोली प्रहार गरेका थिए।
जापानको ‘फायर आर्म ल’ले सट गन र एयर राइफललाई मात्र बिक्रीको अनुमति दिएको छ। हाते बन्दुकको कारोबारमा बन्देज लगाएको छ। यद्यपि बन्दुक खरिद प्रक्रियासमेत जटिल छ।
यसरी बन्दुक किन्ने ग्राहकले एक दिनभरि कक्षा लिनुपर्छ। लिखित परीक्षा उत्तीर्ण गर्दै सुटिङ रेन्ज टेस्टमा ९५ प्रतिशत लक्ष्य हासिल गर्नुपर्ने हुन्छ। उनीहरूको मानिसक स्वास्थ्य तथा ड्रग्स परीक्षण पनि पास गर्नुपर्छ। आपराधिक विवरण, व्यक्तिगत ऋण, साङ्गठनिक अपराधमा संलग्नता र परिवार र साथीसँगको सम्बन्धलाई पनि समीक्षा गरिन्छ।
यी सबै परीक्षणमा उत्तीर्ण भएपछि उनीहरूले सो बन्दुक प्रहरीमा दर्ता गर्दै सबै विवरण उपलब्ध गराउनुपर्ने हुन्छ। यसरी दर्ता भएका हतियारको हरेक वर्ष प्रहरीले अनुगमन गर्छ। लाइसेन्स नवीकरणका लागि पनि हतियारको मालिकले पुन सबै परीक्षण उत्तीर्ण हुनुपर्छ।
यो कानुनले जापानमा व्यक्तिसँग हतियारको सङ्ख्या निकै कम मानिन्छ। २०१७ को तथ्याङ्क अनुसार जापानमा ती लाख ७७ हजार बन्दुक सर्वसाधारणको हातमा छ। १२५ मिलियन जनसङ्ख्या भएको जापानमा प्रति १०० जनामा ०.२५ बन्दुक छन्। जुन अमेरिकामा १०० जनामा १२० बन्दुक छन्।
सन् २००७ मा नागाशाकीका मेयर माथि दुई पटक ‘प्वाइन्ट ब्ल्यांक रेन्ज’बाट गोलीको थियो। त्यससँगै जापानले बन्दुक सम्बन्धी कानुनलाई थप कडा पारेको थियो। यहाँ साङ्गठनिक अपराधलाई १५ वर्ष जेल सजाय, एकभन्दा बढी बन्दुक प्रयोगको घटनामा १५ वर्ष र सार्वजनिक स्थानमा बन्दुक प्रदर्शन गरे आजीवन कारबासको सजाय तोकिएको छ।
त्यसयता बन्दुक हानिएका घटना कमै भएका थिए। अझ सार्वजनिक जीवनका व्यक्तिमाथिको हत्या दुर्लभ मानिएको जापानमा शुक्रबार पूर्वप्रधानमन्त्रीकै हत्या भयो।
‘राजनीतिक द्वेष होइन व्यक्तिगत असन्तुष्टिले हत्या’
घटनामा संलग्न भएका भनिएका तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरेको छ। उनले प्रारम्भिक बयानमा उनी आबेसँग असन्तुष्ट भएको र हत्या गर्न चाहेको बताएको एनएचकेले जनाएको छ।
अभियुक्त सन् २००२ देखि २००५ सम्म त्यहाँको सामुद्रिक आत्मरक्षा बलमा थिए। उनले आबेसँगको असन्तुष्टि भए पनि उनको राजनीतिक विचारप्रति कुनै द्वेष नभएको बताएको रिपोर्टमा उल्लेख छ। प्रहरीले उनको घरमा तलासी गर्दै सम्भावित विस्फोटक पदार्थ नियन्त्रणमा लिएको छ। उनले बयानका क्रममा आफूले अधिक पेस्तोल र विस्फोटक पदार्थ बनाएको बताएका छन्।