काठमाडौँः पार्टी घोषणको एक सातामै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद भएको छ। एकता अभियानमा जोडिएका चार दलले संयोजक वामदेव गौतमलाई कारबाही गरेका छन्। संयुक्त विज्ञप्ति निकाल्दै चार दलले गौतमलाई संयोजकबाट निष्कासन गरेर युवराज सफललाई जिम्मेवारी तोकेका छन्।
एकता अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समावादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले संयोजकबाट गौतमलाई हटाएर सपललाई संयोजक तोकेका हुन्।
उनीहरुले गौतममाथि चार बुँदे आरोप पनि लगाएका छन्। संगठनमा तानाशाही शैली र अराजनीतिक व्यवहार प्रदर्शन गरेको आरोप गौतममाथि लगाएका छन्। यस्तै, अहङ्कारी सोच र एकलौटी निर्णय गरेको, षड्यन्त्रपूर्ण कार्यशैली अपनाएको र एकता अभियानका नाममा शक्ति आर्जन गरी त्यसलाई दुरुपयोग गरेको आरोप उनीहरुले गौतममाथि लगाएका छन्।
अभियानका सचिव वामदेव पक्षका नेता डीबी कार्कीले भने १५–२० जनाको समूहले गरेको भनिएको कारबाहीको औचित्य नभएको बताएका छन्।
कार्कीले भने, ‘पार्टी दर्ता छैन कसरी निकाल्नुहुन्छ। युवराज सफललगायत हाम्रोमा मिसिनु भएको हो। ७५ जनाको कमिटीमा १५÷१६ जनाले कसरी निकाल्छन? उनीहरुलाई मन नभए गए हुन्छ।’