खाबी, टिकटक प्रयोगकर्ताहरुको लागि यो नाम नौलो होइन। शब्दविहीन छोटो र रमाइलो भिडियो बनाउने उनी टिकटकमा निकै प्रख्यात छन्।
उनी हालसालै टिकटकमा सबैभन्दा बढी पछ्याइएका व्यक्ति पनि बनेका छन्। टिकटकमा उनलाई १४ करोड ३६ लाखभन्दा बढी मानिसहरुले फलो गरेका छन्। लामो समय टिकटकमा सबैभन्दा बढी फलोअर हुने सूचीको पहिलो नम्बरमा रहेकी चार्ली डि’मिलियोलाई पछि पार्दै उनी शीर्ष स्थानमा आएका हुन्।
२२ वर्षीय खाबीको खास नाम कबानी लामे हो। उनी टिकटक भिडियोमा केही बोल्दैनन्। तर पनि उनको फलोअर तीव्र रुपमा बढिरहेको छ। किनकी उनी नबोलेरै छोटो र सरल भिडियोमार्फत सबैलाई हसाउँछन्।
टिकटक भिडियोमार्फत सबैलाई हसाउँने लामेको विगतको जीवन भने त्यति सुखद छैन। २ वर्षअघिसम्म लामे उत्तरी इटालीको टुरिनमा रहेको एउटा कारखानामा मेसिन अपरेटरको रूपमा काम गर्थे। साथै उनले एक होटलमा वेटरको पनि काम गर्थे। दुवै काम गरेर उनले प्रतिमहिना एक हजार डलर जति कमाउँथे।
पश्चिम अफ्रिकी मुलुक सेनेगलमा जन्मिएका सोसल मिडिया स्टार लामे इटालीमा हुर्किएका हुन्। करिब २० वर्षअघि उनको परिवार सेनेगलबाट आप्रवासीको रुपमा इटालीको चिभासो पुगेको थियो, उज्वल भविष्यको खोजीमा। तर, उनीहरुको जीवन सोचेजस्तो उज्वल हुन सकेन।
उनीहरुलाई सधैँ नै पैसाको अभाव भइरह्यो। त्यसमाथि उनी ‘डिस्लेक्सिक’ थिए, अर्थात पढ्न लेख्न नजान्ने समस्या उनमा थियो। त्यसकारण नै उनलाई सबैजसो विद्यालयले भर्ना लिन मानेनन्।
अनि आयो कोभिड-१९ को महामारी। उनी एक्कासी बेरोजगार हुन पुगे। दुवै कामबाट उनलाई निकालियो।
बेरोजगार हुँदा र पैसाको अभाव हुँदा उनी दुःखी त थिए नै। तर, उनमा एउटा सोख थियो, मानिसहरुको अनुहारमा हाँसो ल्याउने।
त्यसपछि उनले अरु जागिरको लागि आवेदन दिन आफ्ना बुबाले गरिरहेको आग्रहलाई बेवास्ता गर्दै टिकटकमा भिडियो बनाउने निधो गरे। मार्च २०२० मा टिकटक एकाउन्ट खोले र भिडियो पोस्ट गर्न थाले। जसले उनको जीवन नै सधैँको लागि परिवर्तन गरिदियो।
लकडाउनको बेला बेरोजगार हुँदा पट्यार लाग्दा दिनहरु काट्न टिकटक भिडियोहरू बनाउने गरेको उनले फोर्ब्ससँगको अन्तर्वार्तामा भनेका छन्।
‘यदि तपाईं हाँस्न चाहनुहुन्छ भने, तपाईं सही ठाउँमा हुनुहुन्छ,’ उनले आफ्नो टिकटक एकाउन्टमा लेखेका छन्।
उनले छोटो र मीठो भिडियोमार्फत मानिसहरुले जटिल बनाइरहेका सरल कामहरूको मजाक गरे र ति कामहरूलाई सरल बनाउने तरिका पनि सम्झाए।
सुरुवातमा उनका भिडियोहरु हेर्ने दुई जना मात्रै थिए, उनका बुबा र एक जना छिमेकी।
‘एक महिनामा मेरो भिडियो ९ जनाले हेरेका थिए अनि दुई जनाले फलो गरेका थिए,’ एक अन्तर्वार्तामा उनले भनेका छन्।
तर, उनले यसको मतलव राखेनन् र भिडियो पोस्ट गर्ने क्रम जारी राखे। उनका भिडियाको कुनै भाषा छैन, त्यसैले सबैले बुझ्छन्। उनका भिडियोहरु रमाइला छन्, त्यसैले सबैले रमाइलो माने। अनि ति भिडियोहरु सरल पनि थिए, त्यसैले सबैर सेयर पनि गरे।
बिस्तारै बिस्तारै संसारका सबै देशका मानिसहरुले उनलाई फलो गर्न थाले। खाबीका तिनै छोटा, सरल र रमाइला भिडियोहरुले नै उनलाई अहिले इन्टरनेशनल स्टार बनाइदिएको छ।
२ वर्षअघि शून्य फलोअरबाट सुरु गरेका उनले अहिले १४ करोडभन्दा बढी फलोअर कमाएका छन्। त्यतिमात्रै होइन उनले टिकटकबाटै राम्रो आम्दानी पनि गर्न थाले।
२ वर्षअघि कोभिडका कारण बेरोजगार बनेका खाबी अहिले बहुचर्चित ब्राण्ड ‘ह्युगो बोस’का मोडल पनि हुन्। उनले बोसको क्याम्पेनका लागि बहुवर्षीय सम्झौता गरेका छन्।
अहिले उनको जीवन उलटपुलट भएको छ। उनी करोडौँ मानिसहरुलाई हसाउँछन्। उनलाई फिल्म फेस्टिभलहरुमा बोलाइन्छ भने सेलिब्रिटीहरुसँग पनि उनको हिमचिम बढेको छ। उनको जीवन अहिले लोभलाग्दो बनेको छ।
खाबी भन्छन्, ‘जीवनमा आफूलाई जे गर्न मन लाग्छ, त्यसमा कटिबद्ध भएर लाग्नुपर्छ। अरु मानिसहरुलाई आफ्नो सपनामा दखल दिने मौका दिनु हुँदैन’
उनी संसारभर इटालियन टिकटकर भनेर चिनिए पनि प्राविधिक रुपमा इटालीले उनलाई आफ्नो नागरिक मानेको छैन। १ वर्षको उमेरदेखि इटालीमा बसेको भए पनि उनीसँग नागरिकता छैन। तर, उनले आफूलाई इटालियन भनेर परिभाषित गर्न कागजको टुक्रा नचाहिने बताएका छन्। इटालियन राहदानी नहुँदा उनलाई कहिल्यै समस्या पनि आएको छैन।
टिकटकमा प्रख्यात हुँदाको एउटा अप्रत्याशित ‘साइड इफेक्ट’ भनेको यसले उनीसँग इटालियन नागरिकता नभएको कमजोर पक्षलाई उजागर गरेको छ। उनको सेनेगाली राहदानीले अमेरिका लगायतका देशको भ्रमण गर्न भिसा प्राप्त गर्न गाह्रो बनाएको छ।
अब भने उनले छिट्टै इटालियन नागरिकता पनि प्राप्त गर्न लागेका छन्। खाबीको अपिलपछि आन्तरिक उपसचिव कार्लो सिबिलियाले शुक्रवार उनलाई ट्वीट गरेर नागरिकता दिने बताएका हुन्।
पछिल्ला भिडियोहरूमा उनले कमेडीलाई निरन्तरता त दिइनै रहेका छन् तर उनले अब आफ्ना साथीहरू र पोशाकहरू चिनाएर आफ्नो विधिहरू फराकिलो बनाएका छन्।
‘तिमी एक नम्बरमा आयौ,’ एक प्रशंसक कमेन्ट गर्छन्। अर्का एक जना लेख्छन्, ‘तिमी सफल भयौ, तिम्ले चार्लीलाई पछि पर्यौ।’
धेरैले खाबीलाई ‘टिकटकका नयाँ बादशाह’ भनेर उल्लेख गरेका छन्।
‘तिमी अब शीर्ष स्थानमा छौँ’, एक जना लेख्छन्, ‘मेहेनत गरे सबै सम्भव छ भनेर हजारौँ हजार मानिसहरुलाई प्रेरणा दिएकोमा धन्यवाद।’
अब भविष्यमा कुनै दिन हलिउड स्टार विल स्मिथसँग फिल्ममा काम गर्ने टिकटक किङ खाबीको लक्ष्य छ।