काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाले स्थानीय रुपमा उत्पादन हुने चाकुको ब्राण्डिङ गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको चाकुलाई ब्राण्डिङ गरिने बताएका हुन्।
नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने उल्लेख छ।
नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाइफाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिकरुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ। टोखाले यो आर्थिक वर्षभित्र कार्यालय भवन निर्माण सम्पन्न गरी नगरपालिकाको भवनबाटै सेवा प्रवाहको व्यवस्था मिलाउने, एक वडा एक उद्यान नीतिलाई निरन्तरता दिने, एक वडा एक विपद् सुरक्षितस्थल गरी आवश्यक पूर्वाधार विकास गर्ने बताएको छ।
‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दिर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।