हेटौँडा : वाग्मती प्रदेशको प्रदेशसभा बैठकमा ५ वटा प्रतिवेदन पेश भएको छ। मंगलवार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
त्यसैगरी, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गरेका छन्।
त्यस्तै, बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा मन्त्री जम्मकट्टेलले आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ उत्पादन (उत्पादकको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहने अनुमान गरिएकोमा वाग्मती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६.९ प्रतिशत अर्थात १७ खर्ब ९० अर्ब ६८ करोड रुपैयाँ रहने अनुमान रहेको बताए।
यस्तै, उनले आर्थिक वर्ष २०७८/७९ मा वाग्मती प्रदेशको कुल गार्हस्थ उत्पादन १७ खर्ब ९० खर्ब ६८ करोड रुपैयाँ हुने अनुमानमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी २५.१० प्रतिशत रहेको जानकारी दिए। यसैगरी, वित्तीय तथा बीमा उत्पादन उद्योगको अंश क्रमश ११.१० र ५.५० प्रतिशत रहेको बताए।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालको कुल गार्हस्थ उत्पादनको बृद्धिदर ५.८४ प्रतिशत रहने अनुमान गरिएकोमा प्रदेशको बृद्धिदर सबैभन्दा बढी ६.६० प्रतिशत कायम हुने मन्त्री जम्मकट्टेलले बताए।
आर्थिक सर्वेक्षण प्रस्तुत र विभिन्न प्रतिवेदन पेश भएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार १ गते अपराह्न ४ बजे बस्नेगरी आजको बैठक स्थगित गरे। वाग्मती सरकारले आगामी आर्थिक वर्षको लागि भोलि अर्थात् असार १ गते बजेट प्रस्तुत गर्नेछ।