काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार रहेकी सिर्जना सिंहले आफूमाथि लागेको परिवारवादको खण्डन गरेकी छिन्। बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिंहले आफूले युवाअवस्थाबाटै राजनीति शुरु गरेको दाबी गर्दै विरासतबाट टिकट पाएको भन्नु गलत भएको तर्क गरिन्।
‘एक जनाले राजनीति गर्दा त घर कति अस्तव्यस्त हुन्छ भने हाम्रो घरमा गणेशमान सिंहदेखि पीएलसिंहसम्मले राजनीति गर्दा कति अस्तव्यस्त भयो होला?’ सिर्जनाले भनिन्, ‘घर यस्तो अस्तव्यस्त हुन भएन भनेर म राजनीतिबाट केही समय ब्याक भएर घर सम्हाल्न बसेको हुँ। नत्र प्रकाशमानको घरमा भित्रनुअघि म राजनीतिमा सक्रिय थिएँ।’
डाक्टर इन्जिनियरको श्रीमतीलाई समाजले राम्रो आँखाले हेर्दा राजनीतिक परिवारमा भने अनावश्यक आरोप लगाउने गरेको उनले आरोप लगाइन्। ‘विरासतको राजनीति गर्यो रे। नेताको श्रीमती भएर पायो रे। मैले पद नलिएको कारण यही हो। कस्तो छ भने हाम्रो समाजमा इन्जिनियरको श्रीमती इन्जिनियर भए अहो कस्तो राम्रो जोडी भन्छन् डाक्टरकी श्रीमती डाक्टर भए अहो कस्तो राम्रो जोडी भन्छन्,’ उनले भनिन्, ‘तर नेताको श्रीमती जतिकै राजनीतिक पृष्ठभूमि नभएपनि यस्तो छैन। त्यही नेताको परिवारलाई मात्रै चाहिने भन्दै रुचाउँदैनन्।’
तर नेपाल महिला संघको करले आफू यसपटक मेयरमा उठ्न बाध्य भएको सिंहको भनाई रह्यो। आफू कांग्रेसबाट सर्वसम्मत मेयरमा प्रस्तावित भएर आएको उल्लेख गर्दै भान्सा राम्रोसँग सम्हालेकोले नै काठमाडौं राम्ररी सम्हाल्ने तर्क पेश गरिन्। ‘मलाई भ्रातृ संगठनदेखि स्थानीयको दबाव रह्यो। महिला संघबाट पनि व्यापक दबाव आयो। त्यसपछि सर्वसम्मत रुपमा म मेयरमा प्रस्तावित भएँ,’ उनले भनिन्, ‘हामी घर चलाएर आएको। सबैभन्दा पहिले घर सफा राख्नुपर्छ। त्यसपछि बाहिर सफा राख्ने हो। काठमाडौंलाई राम्रो बनाउने हो।’