काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नयाँ वर्षलाई चुनावी वर्षको रुपमा लिनुपर्ने बताएका छन्। नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै कोइरालाले उक्त भनाई राखेका हुन्।
‘नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन। हाम्रो क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ। नेपाली कांग्रेसका हामी सिपाहीले यो वर्षलाई “चुनावी वर्ष” का रूपमा लिनु पर्नेछ,’ शुभकामना सन्देशमा भनिएको छ।
वितेका वर्ष कष्टकर रहेको र अब सबैमा नवजीवनको धारा बगाउने समय आएको डा कोइरालाको भनाई छ। कोरोना महामारीका कारण कयौंले आफन्त गुमाएको उल्लेख गर्दै उनले ती विषयमा नेतृत्वले आशा जगाउने काम गर्नुपर्ने बताएका छन्।
तीनै तहको निर्वाचन यसै वर्ष हुने भएकोले चुनावमा विभाजित भएर जाने छुट कसैमा नभएको शेखरको भनाई छ। ‘नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुन दृष्टि कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ,’ डा शेखरले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन। हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि। तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ।’
पार्टीभित्रको मतभेद पार्टीको आन्तरिक जीवनको विषय भएकोले यसमा पार्टीभित्रै छलफल हुने कोइरालाको भनाई छ। उम्मेद्वार तय गर्दा काखापाखा गर्ने प्रवृत्तिको विरोध गरिनेसमेत उनले बताएका छन्।