काठमाडौं : नेपालले दक्षिण एसियाली देशहरु श्रीलंकाको आर्थिक संकट र पाकिस्तानको सत्ता परिवर्तनको घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दक्षिण एसियाका दुई मित्र राष्ट्रको पछिल्लो अवस्थाबारे मन्त्रालयले नजिकबाट नियालिरहेको जानकारी दिइन्।
श्रीलंकामा पछिल्लो समय आर्थिक संकट चुलिँदै जाँदा सरकारविरुद्ध सडकमा प्रदर्शन भइरहेका छन्। त्यस्तै, पाकिस्तानमा यसै साता सत्ता परिवर्तन भएको छ। प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा पेश भएको अविश्वासको प्रस्ताव पारित भएसँगै खान बाहिरिएका छन्। त्यस्तै, पीएमएल-एनका नेता शेहवाज सरिफ प्रधानमन्त्री बनेका छन्।
पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा प्रवक्ता लम्सालले भनिन्, ‘दुवै देश नेपालका मित्र राष्ट्र हुन्। दुवै देश सार्कका सदस्य राष्ट्र पनि हुन्। त्यहाँ भइरहेका घटनाहरुलाई हामीले नजिकबाट नियालिरहेका छौँ। उनीहरु आन्तरिक मामिलालाई हामीले प्रतिक्रिया दिन उचित लाग्दैन।’
प्रवक्ता लम्सालले त्यहाँको अवस्थाबाट हामीले पाठ सिक्न सक्ने बताइन्।
‘अहिले मैले यति मात्र भन्न सक्छु पाकिस्तान र श्रीलंकाको पछिल्लो अवस्था हेरेर हामीले पाठ सिक्न सक्छौँ,’ उनले भनिन्।
यसैबिच, लम्सालले नेपालले चाँडो भन्दा चाँडो सार्कको अध्यक्षता हस्तान्तरण गर्न चाहेको प्रतिक्रिया दिइन्। सन् २०१४ मा काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलनपछि सार्क सम्मेलन हुन सकेको छैन। २०१६ मा पाकिस्तानमा सम्मेनल आयोजनाको मिति तय भए पनि भारत-पाक विवादका कारण हुन सकेको छैन।
उनले पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न उच्च इच्छाशक्ति देखाइरहेको उनले बताइन्।
‘चेयरको जिम्मेवारी चाँडो हस्तान्तरण गर्न चाहन्छौँ र पाकिस्तान पनि उत्सुक रहेको छ। पहिले पनि पाकिस्तानले सम्मेलनको तयारी गरेको थियो। इच्छाशक्ति पनि उच्च थियो। म त्यहीबाट राजदूत भएर आएको हुँ,’ प्रवक्ता लम्सालले भनिन्, ‘सार्कको बडापत्रमा सम्मेलन हुन सबै देश सहमति हुनुपर्ने व्यवस्था रहेको छ। जति सक्दो चाँडो शिखर सम्मेलन होस भन्ने चेयरको नाताले हाम्रो पनि चाहना हो।’