काठमाडौं : ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्ट छन्। थप उपचारका लागि उनीहरुलाई काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए।
अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ।