साधारणतया विश्वभर शुक्रवार नै फिल्म रिलिज हुने ‘टेन्ड्र’ छ। सन् १९३९ मा फिल्म ‘गन विथ द विन्ड’ शुक्रवार रिलिज भएको थियो। सो फिल्म सुपरहिट भएपछि शुक्रवार नै फिल्म रिलिज गर्ने परम्परा बसेको मानिन्छ।
बलिउड देखि नेपालमा समेत प्रायजसो शुक्रवार नै फिल्म रिलिज हुने गर्छ। तर, अपवादमा केही फिल्म शुक्रवार भन्दा अघि नै रिलिज हुन्छन्। कुनै विशेष चाडपर्व र अवसर पारेर केही फिल्मले रिलिज मिति तोक्ने गर्छ।
भोलि नयाँ वर्ष २०७९। वैशाख १ गतेको अवसर पारेर नेपाली फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। भोलि नै दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ पनि रिलिज हुँदैछ। दुवै फिल्म बिहीवार प्रदर्शन हुँदैछन्। नेपाली फिल्म त नयाँ वर्षको अवसरमा रिलिज हुँदैछ। दक्षिण भारतीय फिल्म पनि किन बिहीवार नै रिलिज हुँदैछ त?
कारण : भोलि नेपालीहरूको मात्रै नभई तमिलहरूको पनि नयाँ वर्ष हो। अप्रिल १४ मा तमिलहरुले ‘पुथन्डु‘ नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो दिन तमिलनाडुमा सार्वजनिक विदा हुन्छ। साथसाथै श्रीलंकामा पनि यसदिन विदा दिइन्छ। जसकारण पनि यस दिन तमिल फिल्महरु रिलिज गर्ने ‘ट्रेन्ड’ पहिलादेखि कै हो।