काठमाडौं : पछिल्लो २४ घन्टामा १० हजार ३ सय १९ जना कोभिड १९ का संक्रमितको पहिचान भएको छ। २१ हजार २ सय १ जनामा गरिएको परीक्षणमा झन्डै आधामा संक्रमण पुष्टि भएको हो।
हिजो तुलनात्मक रुपमा संक्रमितको संख्या कम देखिएको थियो। हिजो ६ हजार ४ सय ६२ जनामा संक्रमण देखिएको थियो। हिजो १७ हजार ४ सय ३७ जनामा परीक्षण गरिएको थियो।
आज हिजोको तुलनामा ३ हजार ८ सय ५७ जना धेरै संक्रमित थपिएका हुन्। यस अवधिमा १६ हजार ६ सय ५४ जनाको आरटी पीसीआर र ४ हजार ५ सय ४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। पछिल्लो २४ घन्टामा ४ जनाको संक्रमणकै बिच मृत्यु भएको छ। यस अवधिमा २ हजार ५ सय ४० जना संक्रमण मुक्त भएका छन्।
यससँगै कूल संक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अवधिमा १ लाख १९ हजार ३ सय ७१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।