काठमाडौं : नेपाली कांग्रेसको बाँकी रहेको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। १४ औं महाधिवेशनअन्तर्गत बाँकी रहेको १६ जिल्लामा कांग्रेसले माघ १५ गते अधिवेशन तोकेको थियो।
कोरोना संक्रमण तीव्र रुपमा बढेको भन्दै कांग्रेसले अधिवेशन हाललाई स्थगित गर्न निर्णय गरेको कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘सबैको स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी २०७८ माघ १५ गते हुने भनिएको उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको २०७८ माघ ०६ गतेको बैठकको निर्णयानुसार हाललाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जनजीवन सामान्य बन्दै गएपछि रोकिएका जिल्ला अधिवेशन तत्काल गर्ने बताइएको छ। कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामसहित १६ जिल्ला अधिवेशन हुन सकेको छैन।