काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध सानदार जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले ४-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा विमल घर्ती मगरले दोहोरो गोल गर्दा मछिन्द्र क्लबले सहज जित निकालेको हो। खेलको ५५औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको क्रसमा विमल घर्ती मगरले हेडिङमार्फत गोल गरे। दोस्रो गोल ६२औं मिनेटमा विमल घर्ती मगरले वान भर्सेस वानको अवस्थामा गरे।

६५औं मिनेटमा बिमलले ह्याट्रिकको अवसर पाए पनि ब्रिगेड ब्वाइज क्लबका गोलकिपर गुरप्रीत सिंहले बचाएका थिए। त्यस्तै, ७६औं मिनेटमा पनि सुनौलो अवसरमा मगर र रेजिन सुब्बबीच तालमेल नमिल्दा उनी ह्याट्रिकबाट चुके।

लिगमा मगरले तेस्रो गोल पुरा गरेका छन्। यसअघि चौथो चरणको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले इन्ज्युरी समयमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गरेका थिए।

खेलको ८४औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दा अभिषेक रिजालले इन्ज्युरी समयमा गोल थपे। र, मछिन्द्रले ४-० गोलअन्तरले जित निकाल्यो।

जितसँगै लिग लिडर मछिन्द्र क्लबले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। उपाधि होडमा मछिन्द्रलाई कडा टक्कर दिइरहेको मनाङ मर्स्याङदी क्लब नवौं चरणको खेलमा सातदोबाटो युथ क्बलसँग पराजित भएपछि मछिन्द्रलाई लिगमा लिड गर्न सहज भएको छ। मछिन्द्रको २३ अंक छ भने मनाङको १९ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय