काठमाडौँः नेपाली कांग्रेसले नेपाल–भारत संयुक्त आयोगको समझदारी विपरीत लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाएकोमा आपत्ति जनाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वक्तव्य जारी गर्दै सडक निर्माण तत्काल रोक्न माग गरेको छ। सडक निर्माण प्रकरणमा सरकारका तर्फबाट भने हालसम्म कुनै पनि औपचारिक विरोधको प्रक्रिया अघि बढाइएको छैन।  

महामन्त्रीको संयुक्त वक्तव्यमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको उल्लेख गरिएको छ। साथै, दुई राष्ट्रबीचको सीमा सम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्ने माग गरिएको छ। 

पढ्नुस् वक्तव्य

नेपाल-भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्नेगरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिनअघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको  छ ।  लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगतदेखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ । 

नेपाली कांग्रेसले विगतदेखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्‍याउन ।

१)     लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू-भाग हो ।
२)     नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रस्ट छ ।
३)     कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।
४)     नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।
५)     दुई राष्ट्रबीचको सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौँ ।
६)     नेपाल-भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्नेगरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।
७)     दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहिआएको छ । यस अर्थमा सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रस्ट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय