काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले शेर्पालाई १-० गोलअन्तरले हराएको हो।
पहिलो हाफको इन्ज्युरी समयमा नवीन लामाले कर्नरबाट प्रहार गरेको बललाई आवास लामिछानेले हेडिङमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा हिमालयन शेर्पाले खेलमा पुनरागमनका लागि प्रयास गरे पनि फिनिसिङ कमजोर रह्यो।
एपीएफका युवराज खड्का ६० औं मिनेटमा वान भर्सेस वानको अवस्थानमा चुके। ७५ औं मिनेटमा शेर्पाका मुतम्मा पिस्टोनकोले गरेको फ्रिकिक प्रहारलाई एपीएफका गोलकिपर युया कुरियामाले उत्कृष्ट बचाउ गरेका थिए।
८३ औं मिनेटमा मनिकुमार लामाको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो।
जितसँगै लिगको सुरुवाती चरणहरुमा रेलिगेशन क्षेत्रमा रहेको एपीएफले रेलिगेशन क्षेत्रबाट ५ अंकमाथि पुग्दा राहत मिलेको छ। जितसँगै ९ खेलबाट १० अंक जोडेर तालिकाको ८ औं स्थानमा उक्लिएको छ। ११ अंक जोडेको शेर्पा भने तालिकाको छैठौं स्थानमा छ।
पराजयपछी हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले अहिले सम्मकै खराब प्रदर्शन भएको बताए।
‘गाह्रो भयो आज। आजको सबैभन्दा सबैभन्दा खराब म्याच ९ वटामा। माइनर इरोर यो लेभलमा त्यतिको खेल्यौं भने हार्छौं।’ उनले भने।
जितपछी रेफ्रीसँग असन्तुष्ट सुनिएका थापाले खेलाडीको प्रदर्शनलाई लिएर खुशी भए।
‘अलिकति सास फेर्न पाएका छौं। रिलिफ भएको छ। आज हामी हारेको भए धेरै गाह्रो हुने थियो। केटाहरुले मेहेनत गरे,’ उनले भने, ‘रेफ्रीको बारे त केही भन्नै परेन। म भन्दिन। अफसाइडमा गोल दिएन। मछिन्द्रको त्यस्तो गोल त दिएन। हाम्रो त कुरै भएन।’