जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारीहरु आन्दोलित भएका छन्।
पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरुले तालिमस्थलमै गएर विरोध जनाएका हुन्।
नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाई जयनगर-कुर्था खण्डमा नियुक्त भएका कर्मचारीहरुलाई एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रबन्धकले हटाएपछि उनीहरुले आफूहरुलाई पूनः समायोजन गर्न माग गरेका छन्।
पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरुलाई कुनै जानकारी नै नदिई नवनियूक्त महाप्रबन्धक झाले आफू अनुकूलका पार्टीका नयाँ कार्यकर्ताहरुलाई नियुक्त गरी तालिम दिन लागेको बताए। उनले गोप्य रुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरुलाई राख्नु आफूहरुका लागि असह्य रहेको बताए।
पुराना कर्मचारीमध्येका सतिश ठाकुरले १५१ जना पुराना कर्मचारीले तालिम लिइसकेकोले आफूहरुलाई समायोजन गर्नुपर्ने माग गरेका छन्। रेल्वे सञ्चालनका लागि कर्मचारी आवश्यक भएपनि पुरानालाई नराखी नवनियुक्त महाप्रबन्धक झाले फेरि आफ्ना नजिककालाई नियुक्त गरेर तालिम दिनु दुःखद रहेको सुनाए।
यस्तै, सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेका मञ्जय कुमार गोइतले पुराना जनशक्तिलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए। उनले पुराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
उनले पुरानो तालिममा सरकारको ८८ लाख रुपैयाँ खर्च भएको समेत बताए। यस सम्बन्धमा नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले भारतस्थित केआरसीएल कम्पनीका ट्रेनरहरुमार्फत नयाँ नियुक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको बताए।
यस तालिममा गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए। महाप्रबन्धक झाले कानुनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियुक्त गरेको र नेपाल रेल्वे ऐनले दिएको अधिकार बमोजिम नै उनीहरुका लागि तालिम सञ्चालन गर्न लागिएको दावी गरेका छन्।
झाले कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानुनी प्रावधान नरहेकोले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे। उनले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीलाई हटाएका थिए।