काठमाडौं : नेपाल गोजु काई कराते संघले आयोजना गरेको उमा खुला कराते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ। चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलवार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ काँस्य जितेर च्याम्पियन बनेको हो।
४ स्वर्ण, ३ रजत र ५ काँस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ। त्यस्तै, ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो। कातातर्फ पुरुषमा नेपाल हाइसी-हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन्।
महिला ४० केजीमुनि तौल समूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन्। उनले फाइनलमा गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन्।
महिला ४५ केजीमुनि तौल समूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन्। साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन्। उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन्।
महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी-हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन्। महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन्।
महिला खुलातर्फको स्वर्ण जोरपाटी डोजोकी अस्मिता प्रजाले जितिन्। फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन्।
पुरुष ५५ केजीमुनि तौल समूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते। उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन्।
पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते। पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते।
बाँकी स्पर्धाको फाइनल खेल सोमवार नै सम्पन्न भएको थियो। पुरुषतर्फ ३० केजीमुनि तौल समूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौल समूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए। उनीहरु दुवैले गोजु काई कराते संघका उपाध्यक्ष जनार्दन उप्रेतीको प्रायोजनमा ८/८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए।
प्रतियोगितामा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, आयोजक संघका अध्यक्ष अशुराज श्रेष्ठलगायतले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा २ दिनसम्म आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए।