हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राज्य खर्च गर्न तयार हुनुपर्ने बताएका छन्। हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राज्य खर्च गर्न र आम्दानी गर्न तयार हुनु पर्ने बताएका हुन्।
‘सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन, ढुकुटीमा रहेको पैसा बाहिर तानेर विकासका लागि खर्च गरे मात्रै नतिजा आउँछ,’ उनले भने।
उनले वाग्मती प्रदेशमा ४ वटा औद्योगिक क्षेत्रहरूको अवस्था आमाबुवा गुमाएका सन्तानको जस्तै भएको भन्दै ३०औँ वर्षअघि उद्योग खोल्छु भनेर जग्गा लिजमा लिएका मान्छेहरु कहाँ छन् थाहा नभएको तर उनीहरूकै नाममा त्यो जग्गाको स्वामित्व रहेको बताए।
विगतमा प्रदेश सरकारको विषयगत मन्त्रालय पर्यटन र बनसँगै रहेकाले उद्योगका क्षेत्रमा खासै काम गर्न नसकेको भन्दै उनले उद्योगहरूको विषयमा काम गर्न मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारी दिएको र यसबाट सम्बन्धित क्षेत्रहरूमा देखिने गरी प्रगति हुने बताए।
नेपालमा उत्पादन भएको विद्युत् खपतलाई बढाउँदै खाना पकाउने एलपी ग्यासको प्रयोगलाई घटाउनुपर्नेमा समेत उनले जोड दिए। पाण्डेले हेटौँडा कपडा उद्योगको मर्मत गरेर नयाँ मेसिन राखी पुनः सञ्चालनमा ल्याउनुपर्ने बताए।
कृषि क्षेत्रलाई पनि उद्योगसँग जोड्दै लैजाने योजना अनुसार प्रदेश सरकारले हेटौँडा औद्योगिक क्षेत्र भित्रै एउटा प्रदेशस्तरको कृषि औजार तथा उपकरण उत्पादन कम्पनीको पनि स्थापना गर्ने तयारी गरेको उनले बताए।
सरकारी तलब बुझ्ने सबैलाई हेटौँडा कपडा उद्योगको कपडा अनिवार्य गरेर भए पनि उद्योग सञ्चालन गरेर अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले कोभिडपछि काम गर्ने भनेर पर्खन नहुने भन्दै कोभिडसँगै काम गर्न सक्नेगरी विकल्प तयार गर्नुपर्ने बताए।