बुटवल : नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अन्ततः निर्वाचनको प्रक्रिया अगाडि बढेको छ। जिल्ला अध्यक्षका लागि तेजेन्द्र केसी र पुरुषोत्तम घिमिरेको उम्मेद्वारी परेको छ। केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए भने घिमिरे हालका उपाध्यक्ष हुन्।
त्यसैगरी, सचिवमा यज्ञ गैरे र खेम प्रसाद लुइटेलको उम्मेद्वारी परेको छ। शुक्रवारदेखि अधिवेशन शुरु भएको हो। उपाध्यक्षमा जागेश्वरी चौधरी तथा सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको छ।
सर्वसम्मतिको लागि प्रयास गरेका नेताहरुले सहमतिमा केसीको नाम प्रस्ताव गरेका थिए। तर, घिमिरेले पनि दावेदारी प्रस्तुत गर्दै अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।
यद्यपी, दुई नेतालाई मिलाएर सर्वसम्मत गराउने प्रयास भइरहेको प्रचार संयोजक मोहन चापागाईले बताए। सर्वसम्मत भएन भने आइतवार चुनाव हुनेछ। अध्यक्ष तथा पदाधिकारी र जिल्ला कमिटी सबै पदमा नेतृत्वले सहमति गरेर नाम प्रस्ताव गरेका थिए।
आइतवार बिहान ८ बजेदेखि मतदानको प्रक्रिया शुरू गर्ने गरी तयारी भएको अध्यक्षमण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिए।