काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ मा जुन कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा जाने तय भएको थियो, त्यो कार्यक्रम नै स्थगित भएको छ।
‘भाइब्रेन्ट गुजरात’ कार्यक्रम सहभागी हुन उनलाई भारत सरकारले निमन्त्रणा पठाएको थियो। गुजरात जान देउवाको प्रतिनिधिमण्डल समेत तयार भइसकेको थियो। तर, अन्तिम अवस्थामा ‘भाइब्रेन्ट गुजरात’ कार्यक्रम नै स्थगित गरिएको छ। जससँगै देउवाको भारत भ्रमण कार्यक्रम पनि स्थगित हुने बताइएको छ। तर, भ्रमण स्थगितबारे आधिकारिक सूचना दिइएको छैन।
जनवरी १० मा हुने भनिएको कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय थियो। जसमा देउवाले सम्बोधन गर्ने कार्यक्रम पनि थियो। त्यसपछि देउवा र मोदीसँग द्विपक्षीय वार्ता हुने समेत तय भएको थियो। अब उक्त कार्यक्रम जनवरी १२ मा हुने भनिएको छ। देउवाको भ्रमण तालिका पनि कार्यक्रमको मिति अनुसार नै परिवर्तन हुने बताइएको छ।
भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। आजमात्रै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमण बढेपछि ‘भाइब्रेन्ट गुजरात’ कार्यक्रम नै स्थगित गरिएको हो। गुजरातमा २०४ जनामा हालसम्म ओमोक्रन देखिएको छ।
‘भाइब्रेन्ट गुजरात’ कार्यक्रम संघारमा हुँदा त्यहाँका ५ जना वरिष्ठ अधिकारीहरु नै कोरोना संक्रमित भएका छन्। जसकारण उनीहरुसँग नजिकिएका अधिकारीहरुलाई कोभिड १९ परीक्षण गर्न र आइसोलेसनमा बस्न भनिएको छ।