काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। ओली निवास बोलकोट पुगेर पौडेलले संसद् र अदालतको डेडलक तोड्न भूमिका खेल्न आग्रह समेत गरेका छन्। दुई नेताबीच एक घण्टाभन्दा लामो छलफल भएको थियो।
पौडेलको सचिवालयका अनुसार सर्वपक्षीय छलफल गरेर अघि बढ्न ओलीलाई पौडेलले आग्रह गरेका हुन्। दुबै निकाय डेडलकमा फस्दा राजनीतिप्रति नै वितृष्णा पैदा भएको भन्दै रिजिड नहुन पौडेलले ओलीलाई आग्रह गरेका छन्।
संसद्को चालु र अघिल्लो अधिवेशन समेत एमालेको अवरोधको बन्धक बनिरहेको छ। नेकपा (एमाले) का तर्फबाट कारबाहीका लागि सिफारिस गरिएका सांसदलाई कारबाही नगरिएको भन्दै प्रतिपक्षले सभामुखको भूमिकामाथि प्रश्न उठाएर अवरोध जारी राखेको छ। अवरोधका कारण अघिल्लो र चालु दुबै अधिवेशनमा विधायिकी कार्य ठप्प छ।
एमालेले माधव नेपालसहितका १४ सांसदलाई कारबाहीका लागि पत्राचार गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले नेपालसहितका नेता सम्मिलित सांसदहरुले छुट्टै दलको मान्यता नपाउँदासम्म कारबाही प्रक्रिया होल्डमा राखेका थिए। उक्त कार्यलाई एमालेले निष्पक्ष नभएको आरोप लगाउँदै आएको छ।
यस्तै, सर्वोच्च अदालतमा लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन जारी छ। न्यायाधीशहरुले डेढ महिनासम्म इजलास बहिष्कार गरेका थिए। नेपाल बारको कात्तिक १२ गतेदेखिको आन्दोलन अहिले पनि जारी नै छ। बारले महाभियोग प्रक्रिया अघि बढाउन सबै दललाई ध्यानाकर्षण समेत गराइसकेको छ।