जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनुषा सभापति पदका लागि पजियारले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।
उनले पूर्व उपसभापति विमलेन्द्र निधिको समूहबाट जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन्। सभापति पदका लागि पजियारको प्रस्ताव पार्टीका प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले गरेका छन् भने जिल्ला सभापति महेशशंकर गिरीले उनको समर्थन गरेका हुन्।
सभापतिका उम्मेद्वार पजियारले पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई विजयी गराउने आफ्नो मुख्य योजना रहेको बताए। उनले सभापतिमा तीन जना उम्मेद्वार भएपनि स्वयं पहिलो चरणमै जित्ने दावी समेत गरे।
पार्टी सुदृढीकरणका लागि आफ्नो जिल्ला सभापतिमा उम्मेद्वारी रहेको पजियारले बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन विस्तार गर्न आफ्नो उम्मेद्वारी रहेको उनको भनाइ छ। समाज रुपान्तरण र समावेशी समाजको निर्माणका लागि सभापतिमा आफ्नो उम्मेद्वारी रहेको उनले बताए।
यसअघि सम्पन्न प्रदेश अधिवेशनमा सरकार र सत्ताको दम्भ तथा धाकधम्कीहरु आएको बताउँदै पजियारले जिल्ला अधिवेशनमा त्यस्तो केही नचल्ने जिकिर गरे।
उम्मेद्वारी घोषणा सभामा मन्त्री रामसरोज यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गरेका छन्। उनले पजियारको नेतृत्वमा जिल्लामा कुशल नेतृत्व ल्याउन मतदातासँग आग्रह समेत गरे।
प्रदेश २ का ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेको अवस्थामा पुष २७ गते हुने भनिएको जिल्ला अधिवेशन अब माघ १५ गते हुने भएको छ।
धनुषा जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ। जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव बिशेश्वर यादव समेत आकांक्षी देखिएका छन्। यद्यपी, उनीहरुले भने उम्मेद्वारी घोषणा गरेका छैनन्।