हेटौंडा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ। दुई जना सदस्यको लागि हुने निर्वाचनका लागि ६ जनाले मनोनयन दर्ता गराएका हुन्।
राष्ट्रियसभामा वाग्मती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज मनोनयन दर्ता गरिएको हो।
मनोनयन दर्ता गर्नेमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्य छन्। त्यस्तै सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्ण पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले पनि उम्मेदवारी दिएका छन्।
पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ। यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।
आगामी माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ। मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ।